तपाईँ सुन्दै हुनुहुन्छः

धुवाँमा निसास्सिएर सुत्केरीसहित दुई जनाको मृत्यु 

'बच्चाको आइसीयुमा उपचार हुँदै'

जुम्ला । आगोको धुवाँले निसास्सिएर जुम्लामा सुत्केरी सहित दुई जनाको मृत्यु भएको छ । सुत्केरीलाई सेक्न बालिएको आगोको धुवाँले निसास्सिएर पातारासी गाउँपालिका–४ की ११ दिनकी सुत्केरी २२ वर्षीय मायालक्ष्मी महतारा उनकी बहिनी नाता पर्ने १९ वर्षीय जुनमाया रोकायाको मृत्यु भएको हो । 

चन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका उनीहरू आगोको धुवाँले निसास्सिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारकै क्रममा ११ दिनकी सुत्केरी मायालक्ष्मी महताराको सोमबार नै मृत्यु भइसकेको थियो , भने बहिनी नाता पर्ने १९ वर्षीय जुनमाया रोकायाको उपचारकै क्रममा मङ्गलवार बिहान मृत्यु भएको प्रहरी नायब उपरिक्षक छेदिलाल कामतीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,‘सुत्केरी दिदिलाई सघाउन बहिनी आएकी रहेछन् । सँगै सुतेको अवस्थामा धुवाँले निसास्सिएका हुन् । उपचारको क्रममा मङ्गलवार बिहान ६ बजे मृत्यु भएको हो । अहिले शवको पोस्टमार्टम प्रक्रिया भइरहेको छ ।’

उनका अनुसार निसास्सिएर ११ दिनको बच्चा समेत बिरामी परेको छ । भने हाल बच्चाको प्रतिष्ठानको आइसियुमा उपचार भइरहेको छ । सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेका थिए । उनीहरू निसास्सिएको अवस्थामा भेटिएका प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button