तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार ग्रामबाट राजवंशी भाषाको समाचार प्रसारण सुरु

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपालको बहुभाषिक नीतिअनुरूप रेडियो नेपाल तारिणि प्रसाद कोइराला स्मृति सञ्चार ग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण गर्नुले भाषा संस्कृतिको विकासमा थप बल पुगेको बताउनुभएको छ ।

महानगर एफएम रेडियो विराटनगरबाट आजदेखि शुरु भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रमलाई संवोधन गर्नुहुँदै उहाँले संविधानमा उल्लेख भए अनुसार बहु साँस्कृतिक बहु धार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिनुभयो ।

स्थानीय भाषा, संस्कृति कला, साहित्य गीत सङ्गीतको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यअनुरूप स्थापना भएको सञ्चार ग्रामले अन्य सेवा अतिरिक्त राजवंशी भाषा समाचार प्रसारण गर्नु खुसीको कुरा भएको उल्लेख गर्नुहुँदै उहाँले यस्ता खालका भाषा तथा कार्यक्रमलाई आगामी दिनमा अझ विकास एवं विस्तार गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महानगर प्रमुख कोइरालाले तारिणी प्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनी देखि स्थानीय भाषाको गीत सङ्गीत रेकर्डिङ गर्दै आएकोमा यस्ता कुरालाई जनसमुदाय समक्ष पुर्‍याउँदै स्थानीय स्तरमा रोजगारी मुलुक कार्यक्रम सञ्चालन गर्न सञ्चार ग्रामलाई महानगरले सघाउ पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई संवोधन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक एवं सञ्चार ग्राम सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर केसीले आगामी आर्थिक वर्षमा सञ्चार ग्राममा तारिणी प्रसाद कोइरालाको शालिक स्थापना गर्ने र सञ्चार ग्राम मार्फत मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याउने जानकारी गराउनुभयो ।

उहाँले हालसम्म नेपाल सरकारले सञ्चार ग्राम सञ्चालनका लागि गरेको सहयोगको सराहना गर्नुहुँदै सञ्चार ग्रामबाट इ–लाइब्रेरी, रेडियो म्युजियम सञ्चालन साथै गीत सङ्गीत प्रशिक्षण तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्न र विभिन्न भाषाको गीत सङ्गीत रेकर्डिङ प्रारम्भ भइसकेको जानकारी गराउनुभयो । आगामी दिनमा महानगरपालिकाको सहयोगमा उद्देश्य अनुरुप सञ्चार ग्रामले थप क्रियाकलाप गर्दै जाने उहाँको भनाई थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सञ्चार ग्रामबाट राजवंशी भाषाको समाचार प्रसारण हुनु सबैका लागि खुसीको कुरा भएको उल्लेख गर्नुहुँदै सञ्चारकर्मीले लुकेका प्रतिभालाई उजागर गर्दै समाचार सम्प्रेषण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामका निर्देशक पुष्करराज गौतमले सञ्चार ग्रामले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउँदै सञ्चार ग्रामलाई दीर्घकालीन रुपमा अघि बढाउन थप सेवा विस्तार गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा तारिणी प्रसाद कोइराला परिवारका सदस्य इन्दिरा कोइरालाले तारिणी प्रसाद कोइरालाले रेडियो प्रसारणमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नुहुँदै आफ्नो परिवारको तर्फबाट सञ्चार ग्रामलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले सबै जातीय समुदायलाई आफ्नो भाषाको अपनत्व महसुस गराउन सके समग्र मुलुकको विकास हुने धारणा राख्नुभयो ।

कार्यक्रममा सञ्चार ग्राम विराटनगरका प्रमुख बलराम चौधरीले सञ्चार ग्रामको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, राजवंशी समाज विकास समितिका विराटनगरका महासचिव चन्द्रप्रसाद राजवंशी तथा समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले भाषा साहित्यको विकासमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

कार्यक्रमको सहजीकरण सञ्चार ग्रामका वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालले गर्नुभएको थियो ।

सो अवसर महानगरपालिकाका प्रमुख नागेश कोइराला र रेडियो नेपालको कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले संयुक्त रुपमा शिलालेख अनावरण गर्नुहुँदै राजवंशी भाषा समाचार प्रसारणको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा राजवंशी, मुडियारी, मधेशी थारु लगायत विभिन्न जातीय समुदाय तथा सङ्घसंस्था प्रतिनिधिको सहभागिता थियो । आजदेखि शुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउसो १ बजेर ४५ मिनेटमा प्रसारण हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button