तपाईँ सुन्दै हुनुहुन्छः

अविरल बर्षाका कारण दोलखाको बेदीङ र ना गाउँका ७० परिवार सङ्कटमा

दोलखा । केही दिनदेखिको अविरल बर्षाका कारण दोलखाको रोल्वालीङ क्षेत्रको आवागमन अवरुद्ध हुँदा बेदीङ र ना गाउँका बासिन्दाको दैनिकी प्रभावित बनेको छ ।

गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने यो क्षेत्र च्छो–रोल्पा हिमताल जाने मुख्य मार्ग हो ।

अविरल बर्षाको कारण यो मार्गमा पर्ने पाँच वटा खोलाको पुल बगाएको र ठाउँ– ठाउँमा पहिरो गएकोले बेदीङ र ना गाउँसँगको सम्पर्क बिच्छेद जस्तो भएको वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो ।

अविरल बर्षाका कारण यो मार्गमा पर्ने छेङलङु, तीनफाजे, सम्दर र बौला खोलाको पुल पूर्णरुपमा क्षति भएको र अर्को एउटा खोलाको पुल समेत आवतजावत गर्न नसक्ने अवस्थामा पुगेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।

खोलाका पुलहरू बगाएको र ठाउँ– ठाउँमा पहिरो गएपछि ड्वाङभन्दा माथि जाने अवस्था नरहेको स्थानीयले बताएका छन् । वडा नम्बर– ९ को सिमिगाँउसँग सम्पर्क विच्छेद बनेपछि बेदीङ र ना गाउँका झण्डै ६० जनाको दैनिकी कष्टकर बनेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । च्छो–रोल्पा जाने मुख्य मार्गमा पर्ने बेदीङ र ना गाँउमा ७० वटा घर रहेको छ ।
बेदीङ र ना गाउँका स्थानीयले च्छो– रोल्पा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको लागि होटल व्यवसायसँगै हिमाली याक पालन समेत गर्दै आएका छन् । बेदीङ र ना गाँउमा एक सय ५० भन्दा बढी हिमाली याक रहेकोले पनि उनीहरुलाई थप समस्या भएको वडा अध्यक्ष शेर्पाको भनाई छ ।

बेदीङ र ना गाउँका स्थानीयसँग टेलिफोनमा कुरा भइरहेको छ, उनीहरूले केही समयलाई पुग्ने खाद्यान्न छ भन्नुभएको छ वडा अध्यक्ष शेर्पाले भन्नुभयो– उनीहरुलाई धेरै समस्या पर्‍यो भने हामी पालिका र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हेलिकप्टरबाटै भएपनि राहतको व्यवस्था गर्ने छौँ ।

सोमवार राति बेदीङ र ना गाउँको आसपास पहिरो गएपछि अहिले ना गाँउमा १० जना पर्यटक समेत अलपत्र परेको र उनीहरूको उद्धारको प्रयास भइरहेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । १० जनामा छ जना रोल्वालीङ घर भई काठमाडौँ बस्ने र चार जना उनीहरूको साथी रहेको वडा अध्यक्ष शेर्पा जानकारी दिनुभयो ।

दोलखाको गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर– ९ मा रहेको च्छो–रोल्पा हिमताल पुग्न सिमिगाँउबाट सुर्मुचे, क्याल्चेन, डोङ्नाङ, थाङ्मिङ, सन्दर, बेदीङ र ना हुँदै जानुपर्छ । अविरल बर्षाको कारण अहिले डोङ्नाङ भन्दा माथि जान नसक्ने अवस्था रहेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुुवराज पोखरेल ना गाँउमा फसेका पर्यटकको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर आउने तयारी रहेकाले मौसममा सुधार हुनासाथ उनीहरूको उद्धार गरिने बताउनुहुन्छ । पर्यटकको उद्धारको लागि हेलिकप्टर जाँदा बेदीङ र ना गाउँको लागि गौरीशङ्कर गाउँपालिकाले व्यवस्था गर्ने केही खाद्यान्न समेत लिएर जाने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button