तपाईँ सुन्दै हुनुहुन्छः

चौरजहारी-सल्ली सडक अवरुद्ध

काँक्रेविहार (सुर्खेत) । निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्ली सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुङ्गामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ । 

सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्ली बजार आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरू बिहानैदेखि सडकमा अलपत्र परेका छन् ।

सडकमा खसेको ढुङ्गामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो । सडकमा खसेको ढुङ्गा-माटो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो  ।

 यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोक मार्गसमेत जोडिने गर्दछ । भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ । पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button