तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज मंगलबार पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, पुनले नै ‘आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधयेक, २०८१ माथि विचार गरियोस्’ भनी तीन वटा प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन् । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने क्रमले आज पनि निरन्तरता पाउने कार्यसूचीमा उल्लेख छ ।

मंगलबार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button