तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताप्रतिको बुझाइमा एकरुपता जरुरी छ : मन्त्री जोशी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीयताप्रतिको बुझाइमा सबै राजनीतिक दल तथा आम जनसमुदायमा एकरुपता कायम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले सङ्घीयताप्रतिको बुझाइमा एकरुपता ल्याउन सबैले योगदान गर्नुपर्ने बताउनुभयो ।

प्रशासनीय सङ्घीयता कार्यान्वयनको मुख्य स्तम्भका रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन राजनीतिक सहमति र सहकार्यमा तत्काल ल्याउनुपर्नेमा जोड दिँदै उहाँले ऐनले राष्ट्र सेवक कर्मचारीलाई अझ बढी उत्प्रेरित, लगनशील र नागरिक सेवामा थप कर्तव्यनिष्ठ बनाउन अभिप्रेरित गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले तीनै तहका कार्यलाई थप व्याख्या गर्ने गरी कार्य विस्तृतीकरण प्रतिवेदन संशोधन मस्यौदा तयार भएको जानकारी गराउनुभयो ।

राजनीतिक सङ्घीयता संस्थागत हुँदै गएको र तीनै तहका दुईवटा आवधिक निर्वाचन सम्पन्न भई लोकतान्त्रिक अभ्यासका माध्यमबाट सरकार गठन भइरहेका उहाँको भनाइ थियो । प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थाका लागि प्रदेश लोकसेवा आयोग क्रियाशील भएका र प्रदेश लोकसेवा आयोग क्रियाशील नभएका प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा नेपाल सरकारबाट कर्मचारी व्यवस्था गरिने मन्त्री जोशीको भनाइ थियो ।

उहाँले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको स्थायित्वका सन्दर्भमा मन्त्रालयले मापदण्ड निर्माण गरेर खटनपटन गर्ने गरी मापदण्ड निर्माण गरिएका पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button