तपाईँ सुन्दै हुनुहुन्छः

विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत विविध विषयको छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ ।

छलफलमा उठेका विषयमा जवाफ दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्री यादवले स्वस्थ जीवनशैली र रोग लाग्दा उपचार हुने सुनिश्चितताका लागि मन्त्रालय तत्पर रहेको, आधारभूत स्वास्थ्य सेवा निःशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा विमा मार्फत गर्ने रणनीतिका साथ सरकार अघि बढेको बताउनुभयो ।

मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुख्य लक्ष्य बिरामी दर र मृत्युदर घटाउनु रहेको पनि स्पष्ट पार्नुभयो ।  

त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरू कार्यान्वयन र अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिबद्धताहरू पुरा गर्न आवश्यकताका आधारमा बजेट प्रस्ताव गरेको बताउनुभयो ।

मन्त्री चौधरीले विनियोजन विधेयक माथि सांसदहरूले उठाएका विषयलाई सकारात्मक रुपमा लिएको भन्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक, आपङ्ग र लैङ्गिक अल्पसङ्ख्यक लगायतका सबै क्षेत्र समेट्ने गरी बजेट प्रस्ताव गरिएको समेत स्पष्ट पार्नुभयो । उहाँले सामाजिक सुरक्षा भत्तामा एकरुपता कायम गर्ने विषयमा कानुन आवश्यक रहेको औँल्याउनुभएको छ ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले राज्यको निर्देशक सिद्धान्त, नीति, १६ औँ योजना, दिगो विकास लक्ष्य, मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित कानुन, क्षेत्रगत नीति, पर्यटन रणनीति तथा सरकारको वार्षिक नीति तथा कार्यक्रम, संसद् र समितिहरूको निर्देशन र सुझाव अनुसार बजेट तयार पारिएको जानकारी गराउनुभयो ।

मन्त्री तामाङले मन्त्रालयको कार्य जिम्मेवारीको तुलनामा मन्त्रालयलाई निकै कम ११ अर्ब ९१ करोड मात्रै रकम विनियोजन भएको भन्दै विगतका अधुरा आयोजना र प्रादेशिक सन्तुलनलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम तय गरिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले आवश्यकताका आधारमा हवाई क्षेत्रलाई प्रभावकारी विश्वसनीय बनाउन विमान स्थलहरूको सञ्चालन, मर्मत र स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।

मन्त्री तामाङ्गले पर्यटन रणनीतिक योजनामा सघाउ पुग्ने र आगामी वर्ष १६ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएको तथा पर्यटन क्षेत्रको लक्षित जनशक्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिइएको पनि बताउनुभयो ।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सबल सङ्घीयता सक्षम, सुदृढ र जनउत्तरदायी प्रशासनको मुल लक्ष्य हासिल गर्ने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना अनुरुप सङ्घीयता कार्यान्वयन र कर्मचारी व्यवस्थापन गरिरहेको बताउनुभयो ।
सामान्य प्रशासन मन्त्री जोशीले संघ, प्रदेश र सात सय ५३ वटै पालिकामा पठाउने कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना बनाएको र असार महिनाभित्रै कार्ययोजना पास गरेर साउन महिनादेखि लागु गर्ने गरी अगाडी बढेको जानकारी गराउनुभयो ।

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले आगामी वर्षभित्रमा सबै जनतामा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुर्‍याउने लक्ष्यका साथ बजेट प्रस्तावित गरिएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले देशमा उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेर सरकारले ध्यान केन्द्रित गरेको र त्यसका लागि सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत आज अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button