तपाईँ सुन्दै हुनुहुन्छः

खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य

काठमाडौँ । मास्टर सेफ सन्तोष साहले सुरु गर्नुभएको ‘मिथिला थाली’ रेस्टुराँ दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुराँ सुरु गर्नुभएका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गर्नुभएको छ । 

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उहाँले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गर्नुभएको थियो । साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेस्रो शाखाको आज ‘सफ्ट ओपनिङ’ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुराँ सञ्चालन हुने उहाँको भनाइ छ । 

“जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौँ उपत्यकाको झम्सिखेलमा रेष्टुराँ सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “झम्सिखेलको रेष्टुराँमा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुराँ सुरु गर्न लागिएको हो ।” उहाँ अनुसार गौशालाको शाखामा शाकाहारी मिथिला परिकार मात्रै उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीलाई लक्षित गरी रेष्टुराँ लक्षित गरिएको उहाँको भनाइ छ । मिथिला थालीअन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने छन् । 

“मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रबद्र्धन गर्नु हो”, उहाँले भन्नुभयो, “त्यसैले रेष्टुराँ पनि मिथिला कलाले सजाइएको छ ।” रेष्टुराँमा  आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ । “हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरूले यी कला खरिद गरेर उहाँहरूलाई आर्थिक रुपमा  सहयोग गर्न सक्नुहुनेछ”, उहाँले भन्नुभयो । 

दाई दिलीप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२०को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१ को विजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाईसँगै सहकार्यमा रेष्टुराँ विस्तार गरिरहनुभएको छ ।

साह पछिल्लो समय उनी खाना पर्यटन प्रवर्द्धनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । माता सिताको जन्मभूमिको परिकारलाई भगवान् रामको जन्मभूमि भारतको अयोध्यामा पुर्‍याउने गरी काम भइरहेको र एक वर्षभित्रमा अयोध्यामा पनि मिथिला थाली रेष्टुराँ सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुराँ सुरु गर्ने योजना रहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button