तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोसी नदीमा पानीको बहाव चार लाख क्युसेक नाघ्यो

सुनसरी ।  देशकै सबैभन्दा ठूलो नदी सप्तकोसी नदिमा पानीको  बहाव यो वर्ष कै उच्च मापन गरिएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीका अनुसार आज शनिवार बिहान १२.१५ बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक प्रति सेकेन्ड जलसतह मापन गरिएको हो  । 

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी तिवारीले आग्रह गर्नुभएको छ । 

कोसीमा अत्यधिक बहाव हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । कोशी ब्यारेजमा अहिले ५६ वटा ढोका खोलिएको छ । 

यस्तै  अत्यधिक वर्षा भएको भन्दै भारतको बिहार राज्यको जल संशाधन विभागले पूर्व चेतावनी जारी गरेको छ । निरन्तरको वर्षाले कोशी नदी क्षेत्रमा सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानी पुग्न सक्ने विभागको  चेतावनी  छ । बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । 

निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी  दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button