तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्रीद्वारा जवाफ

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटको छलफलका क्रममा सांसदहरूले उठाउनुभएको प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ । 

प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्यमन्त्री प्रदीपकुमार यादव अस्पतालहरूमा आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराउन र विपन्न नागरिकमा सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन बजेटमा प्रबन्ध गरिएको बताउनुभयो । 

स्वास्थ्य मन्त्री यादवले सांसदहरूले उठाउनुभएका कुराहरू स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा सान्दर्भिक रहेको र त्यस अनुरुप बजेटको कार्यान्वयन गर्दै जाँदा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिई काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

स्वास्थ्य मन्त्री यादवले बजेटमा उठेका प्रश्नको जवाफ दिएपछि केही सांसदहरूले पुरक प्रश्न गर्ने क्रममा सभामुख देवराज घिमिरेलाई मात्रै देखाएर बैठकको प्रत्यक्ष प्रसारण गरिएको थियो । 

त्यस पछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाउनुभयो । 

त्यसपछि सभामुख घिमिरेले त्यसको केहीबेरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको स्पष्टीकरण सोध्ने काम सकिएको र विनियोजन विधेयक २०८१ का अन्य मन्त्रालय अन्तर्गतका उठेका प्रश्नहरूको आगामी बैठकमा जवाफ दिइने भन्दै बैठकको कार्यसूचीका अन्य विषयहरू हटाइएको जानकारी गराउनुभयो । 

सभामुख घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे पुनः बस्ने भन्दै आजको दोस्रो बैठक स्थगित गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button