युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना
गाजापट्टी। केही गाजावासीले इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएकामा हमासको आलोचना गरेका छन् । घेराबन्दी र सङ्घर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले गाजावासीको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ ।
“हमासले प्यालेस्टिनी जनताको विनाशको युद्धमा नेतृत्व गरेको छ”, हमास नेतृत्वको प्यालेस्टिनी लडाकूहरू र इजराइलबीचको आठ महिनाभन्दा लामो युद्धका क्रममा दुई पटक विस्थापित भएका ६७ वर्षीय उम्म अलाले भन्नुभयो, “हमासका नेताहरूले यो युद्धलाई अन्त्य गर्न र प्यालेस्टिनी जनताको पीडा समाप्त गर्न चासो राखेका भए उनीहरू सम्झौतामा सहमत हुने थिए ।” उहाँ दक्षिणी गाजापट्टीको प्रमुख सहर खान युनिसमा शरणको खोजीमा हुनुहुन्छ ।
नयाँ युद्धविराममा पुग्न भएको ढिलाइका लागि हमास जिम्मेबार छ भनी एएफपीले गाजावासीहरूलाई सोधेको थियो ।
नोभेम्बरमा एक साताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका छन् । नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजराइली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो ।
मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध समाप्त गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने कोसिसमा इजराइल र हमाससँग वार्तामा संलग्न छन् ।
यद्यपि सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि भय र प्रतिबन्धको वातावरणमा बसेका केही गाजावासी युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मान्छन् ।
उत्तरी गाजामा बस्ने ५५ वर्षीय अबु इयादले भन्नुभयो, “हमासले हामीलाई हाम्रो पीडा र जीवनको विनाशको उपहास गरेको छ ।” उहाँका तीन छोराछोरी अलग अलग स्थानमा आफन्तसँग बसेका छन् । उहाँले कतारले आयोजना गरेको हमासको राजनीतिक नेतृत्वमाथि निशाना बनाउँदै भन्नुभयो, “उनीहरू सुतिरहेका छन्, खाइपिई गरिरहेका छन् ।”
“के तपाईंले कहिल्यै हाम्रो आजको जीवनलाई वास्तवमै बाँच्ने कोसिस गर्नुभएको छ ?”, इयादले प्रश्न गर्नुभयो, “हामीले कयौँपटक खाना पाएका छैनौँ भन्नेबारे तपाईंलाई थाहा छ ?”
वासिङ्टन हाल सम्झौताका लागि नयाँ प्रयासमा लागेको छ । यसको रूपरेखा स्वयं राष्ट्रपति जो बाइडेनले मे ३१ मा दिनुभएको थियो तर अहिलेसम्म युद्धरत दुवै पक्षबाट सम्झौता सुरक्षित गर्न बाँकी छ । एएफपी
प्रतिक्रिया राख्नुहोस्