नेपालमा पठन संस्कृतिको विकास गर्न आवश्यक छ : पूर्वराष्ट्रपति यादव
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/8e4bfe25-b0b8-49bd-8a72-18e0a447d4e7-1024x576.jpg)
पोखरा । नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा अझै पनि पठन संस्कृतिको विकास हुन नसकेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सञ्चालन गरेको पुस्तकालयको शुक्रबार उद्घाटन गर्दै उहाँले नेपालमा अझै पनि पढ्नु पर्छ भन्ने संस्कारको विकास हुन नसकेको बताउनु भएको हो ।
डिजिटल सिस्टमले गर्दा हिजोआज पुस्तकहरू पढ्ने अध्ययन गर्नु भन्दा पनि डिजिटल माध्यमबाट खोजी गर्ने गरेको उहाँले जनाउनु भयो । अहिलेको पठन संस्कृति निकै कमजोर भएको अवस्थामा नेपालकै नमुना डिजिटल पुस्तकालयको रुपमा कास्कीमा सञ्चालन गर्नु निकै उदाहरणीय कार्य भएको पूर्वराष्ट्रपति डा.यादवले प्रशंसा गर्नु भयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/9a4fe2b9-d3a8-4e75-8deb-d80facc49b45-1024x576.jpg)
उक्त पुस्तकालयको उद्घाटनको अवसर आफूलाई दिएकोमा महासङ्घलाई धन्यवाद दिँदै उहाँले पुस्तकालयलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सुझाव दिनु भयो । पुस्तकालयको राम्रोसँग फाइदा लिन सके त्यसबाट असल नागरिक उत्पादनमा थप टेवा पुग्ने उहाँको भनाई थियो । नेपालमा पठन संस्कृतिको विकास गर्न आवश्यक भएको उहाँको आशय थियो ।
गण्डकी प्रदेशका सभा सदस्य एवं पूर्व मन्त्री बिन्दुकुमार थापाले पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना हुन लागेको पुस्तकालयको उक्त अभियानलाई सफल पार्न सहयोग गरिएको उल्लेख गर्नु भयो । उक्त पुस्तकालय सञ्चालन गर्न आफु मन्त्री हुँदा २५ लाख बजेट विनियोजन भएको उहाँले स्मरण गर्नु भयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/40de75bf-7b30-40b1-9de0-2f7f4701754a-1024x576.jpg)
प्रतिक्रिया राख्नुहोस्