तपाईँ सुन्दै हुनुहुन्छः

सुशासनको अभियान सबै स्थानीय तहमा चलाउनुपर्छ : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

file photo

स्थानीय तहदेखि हरेक सेवा प्रवाह गर्ने निकायको कामले नै नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सुशासनका लागि सबै तह र निकायको सामूहिक प्रयास आवश्यक हुने उहाँले बताउनुभयो।

प्युठान नगरपालिकाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले जनताको दैनिक सेवा प्रवाहको मुख्य निकाय स्थानीय तह भएकाले सबै स्थानीय तहमा सुशासनको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सरकारले सुरु गरेको गुणस्तरीय सेवा प्रवाह र भ्रष्टाचार विरुद्धको अभियान सबै तहमा सञ्चालन गरेमा अभियानले छिटै सार्थकता पाउने उहाँले बताउनुभयो।

अर्को प्रसङ्गमा मन्त्री शर्माले सडक विकासको मेरुदण्ड भएकाले सडक सुधार तथा विस्तारमा सर्वपक्षीय सहमति गर्नुपर्ने बताउनुभयो । भालुवाङ-प्युठान सहायक राजमार्गको चेरनेटा-बाग्दुला-सारिवाङ सडकखण्ड बिस्तार गर्ने सवालमा स्थानीय तह र सबै राजनीतिक दलले साझा सहमतिको आधारमा निष्कर्ष निकाल्नुपर्ने उहाँले बताउनुभयो ।

भालुवाङ प्युठान सडकखण्डको विस्तारका लागि सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पहल थालिएकाले प्युठानको मुख्य बजार क्षेत्र हुँदै जाने सडकहरू विस्तारका लागि स्थानीय सरकारको अगुवाइमा साझा धारणा बनाएर विकास निर्माणलाई सहज बनाउनुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु तुलसीराम पोख्रेल, निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्का, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला र सडकको क्षेत्र बिस्तारबाट प्रभावित हुने स्थानीयको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button