तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८० टेबुल

काठमाडौँ । राष्ट्रिय सभामा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि टेबुल भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० सभा समक्ष टेबुल गर्नुभयो ।

यस्तै बैठकमा  विनियोजन विधेयक,२०८० अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल जारी छ । 

छलफलमा सांसद्हरु गोपाल भट्टराई, रामचन्द्र राई, शारदादेवी भट्ट र सोनाम गेल्जेन शेर्पाले खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।

बैठकमा  विनियोजन विधेयक,२०८० अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरू माथि छलफल हुने कार्यसूची छ । 

यसअघि शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले अविरल वर्षाका कारण अवरुद्ध पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रुहरूको सहज आवतजावतको प्रबन्ध गर्नु पर्ने, बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उद्धार, राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, धान खेतीका लागि रासायनिक मलको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा  सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button