तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको स्वास्थ्य बिमा निःशुल्क गरिनेछ : मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेश भित्रका पत्रकारलाई नि–शुल्क रुपमा स्वास्थ्य बिमा गर्नको लागि बजेट बिनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ ।

प्रेस युनियन नेपाल जिल्ला शाखा पर्वतको छैटौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकार र पत्रकारितालाई जोगाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार र पत्रकारितालाई सहयोग होस् भन्ने उद्देश्यका लागि आगामी वर्षको प्रदेशको बजेटमा पत्रकार लेखन वृद्धि कार्यक्रम राखिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

प्रेस स्वतन्त्रतामा कुनै किसिमको अङ्कुश नलाग्ने गरी विधेयक ल्याउने प्रतिबद्धता उहाँले गर्नुभयो ।

उहाँले फरक प्रसङ्गमा नेपाली काङ्ग्रेसभित्र देखिएको समस्या र चुनौती हल्लाको भरका ठुलो बनाइएको बताउनुभयो । उहाँले २०४६ साल पछिका सबै परिवर्तनमा काङ्ग्रेसको मुख्य भूमिका रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य अर्जुन जोशी, प्रेस युनियन नेपालका केन्द्रिय अध्यक्ष शिव लम्साल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा जिल्लादेखि केन्द्रका विभिन्न पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button