तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा बजेटबारे मन्त्रालयगत छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० को मन्त्रालयगत विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको हो ।

बैठकमा सांसदहरू लिलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव राख्नुभयो ।
यसअघि बैठकमा सांसद महेशकुमार बर्तौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटको शीर्षकमा प्रदेशहरूको नाम उल्लेख नभएको भन्दै आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले आजको बैठकको कार्यसूचीमा उक्त मन्त्रालयको शीर्षकगत छलफल कार्यसूचीबाट हटाइएको जानकारी दिनुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठक सुरुमा बोल्दै सांसद्हरूले पूर्वी पहाडका जिल्लामा गएको बाढी पहिरोबाट पीडित नागरिकहरूलाई तत्काल राहत,उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । सांसदहरू दीपक खड्का, योगेशकुमार भट्टराई, रामकुमार राई, अशोककुमार चौधरी लगायतले वर्षासँगै गएको बाढीपहिरोका कारण सङ्खुवासभा, ताप्लेजुङ तेह्रथुम,पाँचथर लगायतका पूर्वी पहाडी जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै पीडितलाई तत्काल राहत, उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद्हरूले विपत्‌बाट भएको क्षतिको यथार्थ विवरण र उद्धारको कार्य प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण ५० करोड रुपैयाँभन्दा बढीको भौतिक पूर्वाधारहरूको क्षति भएको बताउनुभयो ।

मन्त्री ज्वालाले ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा गएको बाढी पहिरोका कारण पुल तथा सडक पूर्वाधारहरूमा ठूलो क्षति पुगेको बताउनुभयो । मन्त्री ज्वालाले ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोला पुल भत्किएपछि ताप्लेजुङ यातायातको सम्पर्कबाट पूर्ण रूपमा विच्छेद भएका कारण सो ठाउँमा तत्काल बेलिब्रिज बनाएर सडक खोल्ने काम भइरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले अवरोध भएको सडकहरू खुलाउन डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई आवश्यक निर्देशन दिइसकेको सदनमा जानकारी गराउनुभयो । मन्त्री ज्वालाले बाढी पहिरोमा परी बेपत्ता नागरिकको उद्धार र राहत तथा पुनःस्थापनाका लागि सरकारले काम तीव्र रूपमा गरिरहेको पनि बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ । भोलि बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button