तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा कायस्थलाई राष्ट्रिय सहिद घोषणा

काठमाडौँ । सरकारले २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते हुनुभएका काभ्रेका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जिउँदो सहिदका रुपमा चिनिनुभएका जनआन्दोलनका घाइते मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सहिद मुकेश कायस्थको यही वैशाख २८ गते निधन भएको हो ।

मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षालाई मानक विश्वविद्यालय तर्जुमाका लागि स्वीकृति दिने निर्णय गर्नुका साथै विभिन्न मन्त्रालय र आयोगका वैदेशिक भ्रमणका कार्यक्रमहरू स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

यस्तै, बैठकले जुम्ला विमानस्थलको विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा नागरिकता विधेयक सम्बन्धी सञ्चारकर्मीको एक जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री शर्माले कोही पनि नेपाली नागरिकताविहीन भएर पीडा भोग्न नपरोस् भन्ने मात्र सरकारको उद्देश्य रहेको बताउनुभयो ।

मन्त्री शर्माले विगतको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कुरामा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र राष्ट्रपतिसँग जोडेर चर्चा चलाइनु गलत भएको उल्लेख गर्नुहुँदै सरकार छिटो भन्दा छिटो नागरिकताविहीनले नागरिकता पाउनुपर्नेमा स्पष्ट रहेको बताउनुभयो ।

मन्त्री शर्माले सरकारको नीति तथा कार्यक्रमबारे सत्ता साझेदार दल तथा सरोकारवाला सबै पक्षसँग छलफल जारी रहेको पनि त्यस अवसरमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button