तपाईँ सुन्दै हुनुहुन्छः

इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या

भोजपुर । जिल्लाको उत्तरी क्षेत्र दिङलामा रहेको इलाका प्रशासन कार्यालयमा दुई महिनादेखि शाखा अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । 

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सेवाग्राही नागरिक सेवाबाट बञ्चित भएका छन् । 

शाखा अधिकृत नहुँदा स्थानीय नागरिकले नारिकता पाउन सकेका छैनन् भने दुई महिनादेखि कर्मचारीले तलब समेत पाएका छैनन् ।

यस क्षेत्रका नागरिकलाई नागरिकता बनाउनकै लागि दुई दिन हिँडेर जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता परेको छ । माघ पहिलो साता इलाका प्रशासन कार्यालयका शाखाका प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । इलाका प्रशासनको काम ठप्प बनेपछि सो कार्यालयबाट सेवा लिने सेवाग्राही मारमा परेका छन् ।

नेपालको संविधान भाग–२ धारा–१० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ । तर भोजपुरको साल्पासिलिछो र षडानन्द नगरपालिकाका नागरिकलाई  इलाका प्रमुख नहुँदा नागरिकता पाउनबाट बञ्चित हुनु पर्ने अवस्था छ ।

यस भेगका कतिपय नागरिकलाई एउटा नागरिकता लिन १० देखि १५ हजार खर्च हुने गरेको छ । 

जिल्ला सदरमुकाममा जान सहज रुपमा गाडी नपाउने साल्पासिलिछो गाउँपालिका ६ दोभानेका स्थानीय विवेक राईले बताउनुभयो । “धनी सम्पन्न परिवारका मानिस त गाडी रिजव गरेर सदरमुकाम जान्छन् हामी जस्तो गरिब परिवारलाई भने नागरिकता लिन जान पीन ऋण नै खोज्नुपर्छ”, स्थानीय राई भन्नुभयो, “भोजपुर सदरमुकामसम्म पुग्न गाडी पनि पाइँदैन हिँडेर जाँदा जान मात्र दुई दिन लाग्छ, गएर खादा बस्दा जाँदा आउँदा  १० देखि १५ हजार खर्च हुन्छ । हामी जस्तो मानिसको लागि सदरमुकाम जान भनेको निकै कठिन कुरा हो ।”

कार्यालयमा गयो काम नभएपछि फर्कनुको अर्को विकल्प नभएको साल्पासिलिछो गाउँपालिका ५ दोभानेका स्थानीय दिलीप राईले बताउनुभयो । इलाका प्रशासन हुनु र नहुनुको कुनै औचित्य नरहेकोमा उहाँले दुखेसो पोख्नुभयो ।

ईलाका प्रशासनमा प्रमुख नहुँदा दुई महिनादेखि तलब समेत नपाएको कार्यालयको लेखापाल राजेश दाहालले बताउनुभयो । “यहाँ आठ जनाको दरबन्दी छ अहिले चार जनाले कार्यालय धान्नुपरेको छ त्यही पनि दुई महिनादेखि तलब समेत पाएको छैन”,  लेखापाल दाहालले भन्नुभयो,  “तलब नपाउँदा खान बस्न समेत समस्या भएको छ ।”

इलाका प्रशासनमा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । 

“जिल्लामा नै कर्मचारीको अभाव छ”, प्रजिअ घिमिरेले भन्नुभयो, “पहाडी क्षत्रको दुर्गम भेगमा कर्मचारी आउन मान्दैनन् मैले मन्त्रालयसँग कर्मचारीको समस्याको बारेमा कुरा राखेको छु, तर पनि तत्काल पदपूर्ति हुने देखिँदैन ।” 

बर्षातको समयमा यस क्षेत्रका नागरिकलाई झनै समस्या हुने गरेको प्रजिअ घिमिरेको भनाई छ । 

जनताको घरदैलोमा सेवा दिने उद्देश्यले देश सङ्घीयतामा गए पनि भोजपुरका दुर्गम क्षेत्रका नागरिक नागरिकता पाउनबाट बञ्चित हुनु दुखको कुरा रहेको स्थानीय बताउँछन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button