तपाईँ सुन्दै हुनुहुन्छः

२७ हजार परिवारलाई पोषण सुधारका लागि पिठो वितरण

जनकपुरधाम । मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि परेको धनुषा तथा सर्लाही जिल्लाका विभिन्न पालिकामा लाइफ नेपालले आपतकालिन पोषण कार्यक्रम अन्तर्गत २७ हजार लक्षित वर्गलाई पोषिलो पिठो वितरण गरेको छ ।

खास गरेर गर्भवती महिला तथा २३ महिनाको बच्चालाई लक्षित गरेर पोषिलो पीठो वितरण गर्ने काम सम्पन्न भएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताउनुभयो । कोरोनाका कारणले गरिब तथा विपन्न वर्गको पोषण अवस्था कमजोर बनेपछि युनिसेफको सहयोगमा विश्व खाद्य कार्यक्रम अन्तर्गत तयार पारेको पोषिलो पिठो लक्षित वर्गको पहिचान गरेर वितरण भएको छ ।

धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको वडा नंं ८ कचुरीमा २ सय ५५ परिवारलाई आज पोषिलो पिठो वितरण गरियो । वितरण कार्यको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थलगत निरीक्षण गर्दै पारदर्शी तथा व्यवस्थित किसिमले वितरण भएकोमा खुसी व्यक्त गर्नुभयो ।

घर धुरीको पहिला नै सर्भे गरेर छनौट भएकाहरूलाई पालिका तथा सम्बन्धित वडा कार्यालयसँग सहकार्य गरी वितरण गरिएको लाइफ नेपालका अध्यक्ष ठाकुरले बताउनुभयो ।

पोषिलो पिठो वितरण कार्यक्रम आजैदेखि सम्पन्न भएको छ । समापन कार्यक्रममा मिथिला विहारी नगरपालिका–८ कचुरीका वडाध्यक्ष हरिनारायण यादव सहित स्थानीय व्यक्ति उपस्थित हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button