तपाईँ सुन्दै हुनुहुन्छः

‘अनियमितता गर्ने छुट कसैले पाउँदैन’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता गर्ने जो कोहीलाई छुट नहुने बताउनुभएको छ ।

एमाले कास्कीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अनियमिततामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाही हुने बताउनुभयो ।

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारबाही हुने स्पष्ट पार्दै उहाँले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताउनुभयो ।

राष्ट्रको आवश्यकताअनुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उहाँले आफूहरू कानुनका पक्षमा रहेको उल्लेख गर्नुभयो । हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै नेता पोखरेलले यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने बताउनुभयो ।

एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले लोकतन्त्रको विकल्प अरू हुन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न निराशालाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले देश र जनताका पक्षमा एकाकार भएर लाग्नुपर्ने बताउँदै अदालतमा प्रवेश भइसकेका विषयलाई सडकबाट प्रभावित गराउन खोज्न नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button