तपाईँ सुन्दै हुनुहुन्छः

गुडिरहेको गाडीमा आगजनी गर्ने ९ जना जेल चलान

झापा । झापाको बिर्तामोडमा ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका ९ जना जेल चलान भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरूलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्टले बताउनुभयो ।

ज्यान मुद्दामा कारागार चलान हुनेहरूमा हल्दिबारी–१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने ४० वर्षीय भीम तुम्बापो लिम्बू, बिर्तामोड–७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति–४ बस्ने बलिहाङ माबो लिम्बू, मेचीनगर–६ बस्ने ३४ वर्षीय राजेश महत, अर्जुनधारा–९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, हल्दिबारी–१ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ, बिर्तामोड–३ बस्ने ३५ वर्षीय उदय लिम्बू र बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन् । फरार रहेका राजवंशीलाई प्रहरीले पछि पक्राउ गरेको थियो ।

उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरू हुन् । दुर्गा प्रसाईँले केही महिना अगाडी चलाएको आन्दोलनमा उनीहरूले बिर्तामोडमा गुडिरहेको गाडीमा आगजनी गरेका थिए । आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा कारबाही अगाडी बढाएको थियो ।

झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप कारबाही अगाडी बढाइएको थियो ।

भारतीय ट्रकका चालकको मृत्यु भएपछि उनका आफन्तहरूले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानी टङ्कीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button