तपाईँ सुन्दै हुनुहुन्छः

युरोपमा मुस्लिम विरोधी भेदभावमा तीव्र वृद्धि: ईयू अधिकार एजेन्सी

भिएन्ना । इजरायल विरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (ईयू)को अधिकार एजेन्सीले बिहीबार जनाएको छ ।

‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए)’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण सुरु भएपछि धेरै ईयू राष्ट्रहरूले मुस्लिम विरोधी कार्यहरूमा वृद्धि भएको जनाएका छन् । 

“हमासको आक्रमणपछि मुस्लिम विरोधी घृणा र यहुदी विरोधी भावना बढेको कुरा प्रकाशमा ल्याउने थुप्रै युरोपेली सङ्घका देशबाट आएका रिपोर्टबारे हामी सचेत छौँ”, एफआरएका प्रवक्ता निकोल रोमेनले बताउनुभयो । 

युरोपेली सङ्घमा लगभग दुई मध्ये एक मुस्लिमले आफ्नो दैनिक जीवनमा जातिवाद र भेदभावको सामना गर्छन्, जुन सन् २०१६  मा एफआरए सर्वेक्षणको अन्तिम संस्करणमा फेला परेको ३९ प्रतिशतबाट तीव्र वृद्धि हो । भेदभावको सबैभन्दा बढी दर अस्ट्रिया, जर्मनी र फिनल्यान्डमा रेकर्ड गरिएको छ । 

“हामीले युरोपमा मुस्लिम समुदाय विरुद्ध जातिवाद र भेदभावमा चिन्ताजनक वृद्धि देखिरहेका छौँ”, एफआरएका निर्देशक सिर्पा राउटिओले भन्नुभयो ।  

“यो मध्यपूर्वमा द्वन्द्वले उत्प्रेरित भएको हो र महाद्वीपभरी देखिएको अमानवीय मुस्लिम विरोधी प्रदर्शनले स्थिति अझ खराब बनाएको छ”, राउटिओले बताउनुभयो ।

अक्टोबर सन् २०२१ को अक्टोबर देखि  सन् २०२२ को अक्टोबरसम्म १३ वटा युरोपेली देशका ९ हजार ६ सय भन्दा बढी मुस्लिमहरूको सर्वेक्षण गरिएको थियो । 

मुस्लिम महिला, पुरुष र बालबालिकाहरू धर्मका कारण मात्र नभई छालाको रङ र जातीय वा आप्रवासी पृष्ठभूमिका कारण पनि हिंसामा परेको एफआरएले उल्लेख गरेको छ । रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button