तपाईँ सुन्दै हुनुहुन्छः

उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रुस पठाएको अमेरिकाको दाबी

वासिङ्टनडीसी /अमेरिका  । उत्तर कोरियाले कम्तीमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रुसमा पठाएको ह्वाइट हाउसले जनाएको छ ।  ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना रहेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदै गरेको सार्वजनिक सूचना पाएको बताउनु भएको छ ।  

सेना उत्तर कोरियाको वोनसनबाट रूसको भ्लाडिभोस्टोकसम्म जहाज मार्फत गएको बताउँदै  हाल उनीहरू रूसी सैन्य प्रशिक्षणमा रहेको बताउनु भएको छ । प्रशिक्षण पछि  सैनिकहरूले युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नु भएको छ ।  

किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्था बारेमा जानकारी दिएको बताउँदै  उत्तर कोरियाले मस्को र किभबिचको द्वन्द्वमा प्रवेश गरेमा युद्धमा रुस कायरतालाई उजागर गर्ने उल्लेख गर्नु भएको छ ।
  
युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउँदै  किर्बीले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको विपरीत  युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको बताउनु भएको छ ।  

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगको बारेमा कुरा गर्दै  अमेरिका युक्रेनलाई थप युद्ध सामाग्रीहरू प्रदान गर्ने तयारीमा रहेको बताउनु भएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेकोसमेत जानकारी दिनु भएको छ ।  

युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उहाँले आगामी दिनमा अमेरिकाले युक्रेन विरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाउनु भएको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button