तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई सीप सिकाउँदै उद्यमशीलतामा जोडौँ : मुख्यमन्त्री आचार्य 

बर्दिया । मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरूलाई उद्यमशीलतामा जोड्ने गरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकारसँग समन्वय गर्ने बताउनु भएको छ । ‘युवाहरूको रुचि र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्ने उहाँले बताउनु भएको छ । 

बर्दियाको बाँसगढी नगरपालिकाले आयोजना गरेको प्रथम युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताउनु भएको हो । स्थानीय रोजगार रणनीति निर्माण गर्नका लागि आयोजना गरिएको युवा सम्मेलनमा मुख्यमन्त्री आचार्यले स्वदेशमै उद्यमशीलताको अवसरहरू सृजना गर्न सरकार तयार भएको बताउँदै उहाँले सिप सिकाउने र उद्यमशीलतामा जोड्ने कुरामा प्रतिबद्ध भएको बताउनु भएको छ । उहाँले भन्नुभयो –‘युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको विचमा समन्वय र सहकार्य हुन जरुरी छ ।’  युवाहरूलाई स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन मुख्यमन्त्री आचार्यले आग्रह  गर्दै उहाँले भन्नु भयो –‘यो मुलुकको भोली व्यवसायी, व्यापारी र उद्योगपति बन्न सक्नुहुन्छ, अवसरहरू धेरै छन् अगाडी बढ्नु होस, हजुरहरूको साथमा प्रदेश सरकार छ । ’ 

सम्मेलनमा बोल्दै बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले नगरपालिकाका युवाहरूलाई रोजगार र अवसरसँग जोड्नका लागि युवा सम्मेलनको आयोजना गरेको बताउनु भएको छ । सम्मेलनले स्थानीय रोजगार रणनीति तयार गर्ने, युवा नीति तयार गर्ने युवाहरूलाई स्थानीय शासनमा अर्थपूर्ण सहभागिता गराउने उद्यमशील युवा तयार गर्ने कार्य गर्ने उहाँले बताउनु भयो । 

‘म बनाउँछु मेरो पालिका, नागरिकको श्रम र पसिना: राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनमा बाँसगढी नगरपालिका भित्रका पाँच सय भन्दा बढी युवाहरूको सहभागिता रहेको छ । सम्मेलनले स्थानीय युवा रणनीतिका लागि समूह छलफल सहित युवाहरूको धारणा समेटिने छ । राती अबेर सम्म चल्ने सम्मेलनमा रणनीति निर्माण सहित बाँसगढी घोषणा पत्र सार्वजनिक गर्ने बाँसगढी नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button