तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक वृद्धि गर्न भरतपुरमा इन्टरनेशनल म्याराथन प्रतियोगिता हुने

चितवन । भरतपुरसहित समग्र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित म्याराथन प्रतियोगिता गर्न लागिएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को क्रममा रोटरी क्लब अफ चितवनको आयोजनामा यही आंँउदो शुक्रबार इन्टरनेशनल हेरिटेज म्याराथन गर्न लागिएको हो ।

आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक पियाले पर्यटन सिजन शुरु भएसँगै कोभिडकालमा थलिएको पर्यटनलाई उकास्न र पर्यटकको सङ्ख्या वृद्धि गर्न पहिलो पटक म्याराथन प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

प्रतियोगितामा पाँच सय प्रतियोगी हुने अपेक्षा गरिएको र तीमध्ये सय जना गैर आवासीय नेपालीको सहभागिता हुनेछ ।

पियाका अनुसार म्याराथन चितवन राष्ट्रिय निकुञ्ज स्थित कसराबाट शुरु भएर पर्यटकीय क्षेत्र मेघौलीमा अन्त्य हुनेछ । १४ किलोमिटर दुरी रहेको म्याराथनमा १८ वर्षभन्दा माथिका महिला र पुरुष सहभागी हुन पाउनेछन् । रन फर कन्जरभेसनको मुल नारासहित म्याराथनबाट भरतपुरका प्राकृतिक तथा वन्यजन्तु हेर्नलाई आकर्षित गरिने पियाले बताउनुभयो ।

हालसम्म अनलाइनबाट २५० जना बढी प्रतियोगीहरूले आवेदन दिइसकेका छन् । प्रथम हुने महिला तथा पुरुष धावकलाई पदकसहित ३० हजार रुपैंया, द्वितीय हुनेलाई पदकसहित २० हजार, तृतीय हुनेलाई पदकसहित १० हजार र सान्त्वना पुरस्कार पाँच हजार रुपैंया र प्रमाणपत्र दिइनेछ ।

१२ लाख रुपैंया खर्च अनुमान गरिएको प्रतियोगिताको संरक्षकको रुपमा भरतपुर महानगरपालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button