तपाईँ सुन्दै हुनुहुन्छः

बाँस तथा माटोले बनेका सामाग्रीको बिक्री बढ्यो

जनकपुरधाम । दीपावली तथा छठ पर्व नजिकिएसँगै बजारमा बाँस तथा माटोले बनेका भाडावर्तन सहितका सामाग्रीहरूको बिक्री बढेको छ ।

मिथिलाका सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने बाँसले बनेका छैटी, टपरी, डगरी, सुपली, नाङ्लो सहितका सामाग्रीको बिक्री अत्यधिक मात्रामा बढेको व्यापारीहरूको भनाइ छ ।

छठका लागि व्रती तथा निजका परिवारले ती सामाग्री एक महिनाअघि देखि नै किनमेल गर्ने चलन रहेको छ । सुरुमा किन्दा सस्तो हुने भएकाले आफूले एक साता अगाडी नै बाँसले बनेका सामाग्री किनेको जनकपुरधाम–८ का अशोक उपाध्यायले बताउनुभयो ।

अहिले जनकपुरधाममा छठमा प्रयोग हुने बाँसका सामाग्री प्रतिगोटा १ सयदेखि ६ सयमा बिक्री हुने गरेको छ । पवित्रताको पर्व हुने भएकाले यसमा टाला सजाउनका लागि छैटी, डगरी, टपरी तथा नाङ्लो नै प्रयोग हुने गरेको छ ।

छठ तथा दीपावलीमा प्रयोग हुने माटोका भाडा वर्तनको विक्री पनि बढेको छ । यसको उत्पादनमा कुम्हाल जातिले गर्ने गर्दछन् । छठमा माटाका हात्ती, कुरुवा, कुरुवार, ढक्कन, सर्वा तथा दिऔरीको प्रयोग हुने भएकाले बिक्री अत्यधिक मात्रामा हुने गरेको छ ।

माटोको विकल्पमा कतिपय व्रतीले तामा तथा पित्तलका सामान किन्न थालेपछि कुम्हाल जातिको पेशा भने सङ्कटमा पर्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button