तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल संवत् न्यूदयाँ तयारी

'संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत: प्रधानमन्त्री ओली'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभएको हो । 

“राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौँ लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’’, इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धुनहरू रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गर्नुभयो ।

सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गर्नुभयो । उहाँले राष्ट्र बैङ्कबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गर्नुभयो । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिनुभयो । सरकारले २०६५ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्याको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा  प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरू हितकर वीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button