तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भोलि र पर्सि ४६ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

बाँके । बाँके जिल्लामा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार ६ देखि ५९ महिना उमेरका ४६ हजार ४८० जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १ वर्षदेखि ५ वर्षसम्मका ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनका लागि भिटामिन ‘ए’ र जुकाको औषधिको वितरणलाई तीव्रता दिइएको जानकारी दिनुभएको छ। बाँके जिल्लाका आठ वटा पालिकामा यो स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने छ।

नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा धेरै १२ हजार १५ जना बालबालिकालाई भिटामिन ‘ए’ र १० हजार ६२१ जना बालबालिकालाई जुकाको औषधि खुवाइने योजना छ। त्यस्तै, सबैभन्दा कम जानकी गाउँपालिकामा ४ हजार १३ जना बालबालिकालाई भिटामिन ‘ए’ र ३ हजार ५४८ जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

भिटामिन ‘ए’ र जुकाको औषधि वितरणमा ७८५ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ। नेपालगन्ज उपमहानगरपालिकामा १९६ जना, कोहलपुर नगरपालिकामा ७१ जना, राप्ती सोनारी गाउँपालिकामा ११० जना, खजुरा गाउँपालिकामा १०८ जना, जानकी गाउँपालिकामा ८१ जना, नरैनापुर गाउँपालिकामा ६८ जना, डुडुवा गाउँपालिकामा ५९ जना, र बैजनाथ गाउँपालिकामा ९२ जना स्वयंसेविका परिचालित हुने जानकारी श्रेष्ठले दिनुभएको छ।

सबै पालिकामा औषधि पठाइसकिएको र वितरणको सम्पूर्ण तयारी पूरा भएको पनि श्रेष्ठले बताउनुभयो। यस अभियानले जिल्लाका बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button