तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबारदेखि साफ वुमन्स च्याम्पियनसिप सुरु हुँदै

काठमाडौँ । बिहीबारदेखि सुरु हुने साफ वुमन्स च्याम्पियनसिपमा नेपालका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिम तयार रहेको बताउनुभएको छ ।

प्रतियोगिता सुरु हुनु एक दिनअघि बुधबार आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले आफूले छोटो समय पाएपनि टिमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । कन्फेरेन्समा सहभागी सात वटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए ।

एन्जिला तुम्बापोको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिएको थियो । प्रतियोगिता कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक हुन लागेको हो ।

नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौँमा साफको आयोजना गरेको थियो । प्रतियोगिताका लागि सबै टोली काठमाडौँ आइसकेका छन् ।

च्याम्पियनसिपको उद्घाटन खेल बिहीबार समूह ‘ए’मा रहेका भारत र पाकिस्तानबिच हुनेछ । समूह ‘बी’मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्नेछ । समूह ए मा बङ्गलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलङ्का छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button