तपाईँ सुन्दै हुनुहुन्छः

दोलखा सहरमा खड्गे जात्रा प्रदर्शन

दोलखा । दोलखा सहरमा मनाइने परम्परागत खड्गे जात्रा आइतबार सकिएको छ । ऐतिहासिक दोलखा सहरमा पौराणिक कथामा आधारित यो जात्रा प्रत्येक बर्ष विजया दशमी (टिका) को भोलिपल्ट दिनभर विभिन्न टोलमा प्रदर्शन गरिने प्रचलन रहेको छ ।

खड्ग जात्रा प्रदर्शनको क्रममा सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्ने गरिन्छ । मल्लकालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशैँ टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको स्थानीय प्रवीण प्रधानले बताउनुभयो ।

किंवदन्ती अनुसार दानवहरूले देवदेवी तथा मनुष्यहरूलाई विभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरूले युद्ध गरी महिषासुर दानवको वध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए । युद्ध सुरु हुनुअघि पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि देवदेवीहरू जनै पूर्णिमाको अघिल्लो दिन कालिन्चोक भगवती भएको ठाउँमा जाने र जनै पूर्णिमाको दिन त्यहीँबाट निसाना लिएर आई दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरी युद्ध गर्ने परम्परा रहेको स्थानीय ज्येष्ठ नागरिक यज्ञकुमार प्रधानले बताउनुभयो ।

देवदेवीले राइतीमा यज्ञ गरेको खबर पाएपछि दानवहरू यज्ञ ध्वस्त गर्न त्यस ठाउँमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरूको यस्तो कार्यले देवदेवीहरू क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो । युद्धमा दानवहरू पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको वध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीयको भनाई छ ।

खड्ग जात्रा मनाउन दोलखाको राज कुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरूद्वारा चामलको भातबाट चक्रेश्वर बलि राजाको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको स्थानीय ज्ञानेन्द्र प्रधान बताउनुहुन्छ ।

भीमेश्वरमा बलि दिने चारवटा राँगा मध्य एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ ‘महिसासुरलाई यातना दिइएको’ मानिन्छ ।

भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरवलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको संस्कृतका अध्यता स्थानीय तीर्थनारायण जोशीले बताउनुभयो । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गेल टोल, नागेश्वर मन्दिर, पिङ्गल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाउँमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुनसहित बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ । खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।

दोलखा सहर छुट्टै राज्य हुँदा हाय हाय राजाको पाला देखिनै प्रचलनमा रहेको खड्ग जात्रालाई मल्ल राजाको पालामा व्यवस्थित गरिएको थियो । अहिले यो जात्रामा विभिन्न भूमिकामा रहने व्यक्तिहरू क्रमशः नयाँ पुस्तामा हस्तान्तरण हुँदै गएको स्थानीय भरत श्रेष्ठले बताए ।

एकथरी किंवदन्ती अनुसार कालिन्चोक माताले दोलखाको एक जना नेवार, सुनखानीका एक जना शिवाकोटी र बोचका एकजना बस्नेतलाई सपनामा तिमीहरू मेरो असली भक्त हौ मेरो खड्ग तिमिहरूले लगेर पुजा गर्नु भनेपछि तीन जनाले दुई/दुई वटा खड्ग लिएर आएको र त्यही खड्ग दोलखाको जात्रामा प्रयोग गरिएको मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button