तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम बढेपछि रोकियो राजदुवाली सडक मर्मतको काम

इलाम । मेची राजमार्गको राजदुवालीमा भइरहेको मर्मतको काम स्थगित गरिएको छ ।  अविरल वर्षापछि पहिरो झरेर दुई दिनदेखि पूर्ण रूपमा बन्द रहेको मेची राजमार्ग मर्मतको काम आइतबार सक्ने लक्षसहित सुरु गरिएको थियो ।

पहिरो गएको स्थान भन्दा माथिल्लो क्षेत्रमा सडक फाटेर जोखिम बडेपछि काम रोकिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । तर, मर्मत गरेभन्दा माथिल्लोपट्टिबाट झनै ठूलो पहिरो आउने सम्भावना बढेपछि काम स्थगित गरिएको हो ।  हिजो राजदुवाली–गोलाखर्क खण्डमा पर्ने यो ठाउँमा काम सुरु गर्ने बित्तिकै माथिबाट पहिरो झरेपछि सवारीका साधन बन्द थिए । करिब ३० मिटर राजमार्गमा पहिरो गएपछि मेचीको ‘लाइफ लाइन’ टुटेको थियो । योसँगै झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क छिनेको थियो । 

आज बिहानैदेखि सडक डिभिजन, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले राजमार्ग मर्मत गर्दै थिए । तर, माथिपट्टि धाँजा फाटेर पहिरोको खतरा भएपछि काम रोकिएको डिभिजन प्रमुख पवन भट्टराईले बताए । ‘यो खण्डको एक किलोमिटरभित्र दर्जनौँ ठाउँमा पहिरोको जोखिम छ, गोलाई धेरै वटा भएकाले एक ठाउँ बनाउँदा अर्को ठाउँमा खतरा पुगिहाल्छ,’ उनले भने, ‘पानी आयो भने ठूलो पहिरोको खतरा छ ।’ दसैँको मुखमा राजमार्ग क्षतिग्रस्त भएपछि सयौँ यात्रुले दुःख पाएका छन् । यी तीन जिल्लामा खाद्यान्न, पेट्रोलियमलगायत दैनिक उपभोग्य सामग्री ल्याउनसमेत समस्या भएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ ।  अब यो राजमार्ग मर्मतको काम के हुने भन्ने अन्योल छ ।

अहिले यात्रुहरू मेची राजमार्ग नै भएर माइखोलासम्म आउने, इलाम बजारबाट पनि गाडीमा पहिरो झरेको ठाउँसम्म जाने र करिब दुई सय मिटर पैदल हिँडेर यात्रा गरिरहेका छन् ।  यसबाहेक वैकल्पिक सडकका रूपमा इलामबाट तिल्केनी–माइखोला–हात्तीटार–शुक्रबारे–गुप्ती–फिक्कल हुँदै यात्रुहरू यात्रा गर्दैछन् । तर, वैकल्पिक सडकमा साना सवारीका साधन चलेपनि मालवाहक साधन चल्ने अवस्था छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button