तपाईँ सुन्दै हुनुहुन्छः

बीपी राजमार्ग दसैँ अगाडि पूर्णरूपमा सञ्चालन हुन नसक्ने

काभ्रेपलान्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैँ अगाडि पूर्णरूपमा सञ्चालन हुन नसक्ने जनाएको छ।

अविरल वर्षा पछिको बाढीपहिरोका कारण काभ्रेपलान्चोक जिल्लाभित्रको बीपी राजमार्ग अन्तर्गत रोशीमा ८० प्रतिशत भन्दा धेरै सडक बाटो बिग्रेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

आज बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएकाले दसैँ अगाडि पूर्णरूपमा सञ्चालन हुन नसक्ने जनाएको हो।

त्यसको विकल्पका रूपमा अन्य रुटहरूलाई सहज ढंगले सुचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।

सो सडक(खण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेको र सडक बनाउनका लागि पर्खाल नै उठाउनुपर्ने देखिएको उहाँले बताउनुभयो । बाढीका कारण बीच बाटोमा फसेका सवारीसाधनलाई निकाल्नका लागि खोला किनारमा नै अस्थायी सडक निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

दसैँअघि उपत्यका बाहिरिने अन्य राजमार्गहरू सुचारु हुने उहाँको भनाइ छ। शर्माले बाढीका कारण ८ स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button