तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा कालिका र मनकामना दशैँघरमा जमरा राखियो

गोरखा । देवी भगवतीको रुपमा रहेकी गोरखा कालिका र मनकामना मन्दिरको दशैँ घरमा आज जौको जमरा राखिएको छ ।

देवीलाई खुशी पार्न जौको जमरा राख्ने गरिएको मनकामनाका पुजारी इन्सानबाबु थापा मगरले बताउनुभयो ।

आजै देवी भगवतीलाई कालिका मन्दिरबाट दशैँ घरमा सारेर गोरखा कालिकामा विधिपूर्वक जमरा राखिएको हो ।

नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँ घर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

परम्परा अनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भ गृहमा पदस्थापना गराई पानी घडा थापेर जमरा राखिएको मुल पुजारी भट्टराईले बताउनुभयो ।

गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ ।
उपल्लो कोट, तल्लो कोटहरूमा पनि एक÷एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।
गोरखामा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोकाको बलि दिने प्रचलन छ । बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ ।

घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने चलन रही आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button