तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरो : काभ्रेपलाञ्चोकमा पशुपक्षीहरूको क्षतिको यकिन हुन सकेन

काभ्रेपलाञ्चोक । अविरल बर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा हालसम्म मानवीय क्षतिको प्रारम्भिक तथ्याङ्कहरू सार्वजनिक भए पनि पशुपक्षीहरूमा भएको क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन ।

पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख पशु विकास अधिकृत डा.निशान्त शर्माले जिल्लामा बाढी पहिरोमा परी हजारौँ पशुपक्षीहरू पुरिएकाले तत्काल घाइते पशुपक्षीको उद्धार, उपचार र मृत्यु भएका पशुहरू गाड्नलाई पशु सेवा प्राविधिकहरू परिचालन गरिएको जानकारी दिनुभयो । सम्भवतः भएका स्थानमा पशु भेटनरी एम्बुलेन्स सेवा समेत सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लामा पशुपंक्षी मरेको यकिन तथ्याङ्क अझै पनि सङ्कलन हुन सकेको छैन । कुखुरा फार्महरू पुरिएका छन् । कृषकहरूलाई ठुलो क्षति पुगेको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा बचेका पशुहरू जोगाउन नसकेपछि अहिले धमाधम मासुमा लैजान थालिएको छ । लैनो भैँसी दूध दिन छाड्नु , दूध दुहुने मान्छे समेत अभाव हुनु, आदि कारणले  सोही क्षेत्रका केही भैँसीहरू मासुमा विक्री भएका छन् । खसी बोकाहरू चोरी हुन थालेका छन् । राति राति कुर्ने मान्छे छैनन् । भएका पशुहरू हराउन पनि थाले । पाल्न नसकेपछि मासुमा विक्री गर्नुको विकल्प नभएको स्थानीयवासीको भनाइ छ  । 

पशुहरूको मृत्यु, घाइते र सडक अवरोधका कारण कृषकहरूले उत्पादन गरेको दूध सडकको पहुँचसम्म ल्याउन सकिएको छैन ।

पहिरोले मल्पि तिपचोक गाउँ नै विस्थापित भएपछि बाचेका पशुपक्षीहरूलाई अहिले घाँस पानीको अभाव भएको छ  । पनौती नगरपालिका– ८ मल्पि तिपचोकमा प्रगति कृषि फार्मका ४० वटा भैँसीको पनौती नगरपालिकाले उद्धार गरेको छ । असोज १० गते रातिदेखि केही खान नपाएका ४० पशुको मङ्गलवार राति उद्धार गरिएको हो । नगरपालिकाले ४ दिनपछि मल्पि तिपचोकबाट भैँसीको उद्धार गरि पनौती ल्याइएको हो  । पहिरोले स्थानीयवासीको उठिबास भएपछि तिपचोक गाउँबाट ल्याइएका ४० वटा भैँसीको लागि नगरपालिकाले दानाको व्यवस्था समेत गरेको  छ । 

पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराले निरन्तर सडकको अवरोध हटाउन प्रयत्न गरी भैँसीहरूको उद्धार गरिएको बताउनुभयो  । भैँसीले पानी समेत खान नपाउँदा सुत्केरी भैँसीहरू बिरामी पर्न थालेका छन् ।पनौती नगरपालिका जिल्लाकै भैँसीको लागि पकेट क्षेत्र हो । नगरपालिकाले तत्कालीन अवस्थामा ८ सय पाडी वितरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button