तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको तेगामा पहिरोमा परी ७ जना बेपत्ता भएको आशङ्का, हेलिकोप्टरबाट खोजी कार्य गरिने 

सिन्धुपाल्चोक । जिल्लाकै विकट जुगल गाउँपालिकामा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् ।

गत असोज १२ गते निरन्तर वर्षासँगै आएको पहिरोले ४ घर बगाउँदा ७ जना बेपत्ता भएको स्थानीयले  जानकारी दिएका हुन् । 

स्थानीय ईश्वर गुभाजुले दिएको जानकारी अनुसार पहिरोले ४  घर बगाउदा साँबो शेर्पा, डेण्डु शेर्पा, साहिँला शेर्पा, ढोमा शेर्पा, पासाङ ढोमा शेर्पा, ढार्के शेर्पा र निङमा शेर्पा बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको उद्धारका लागि हालसम्म त्यहाँ कोही नगएको बताइन्छ ।

जुगल गाउँपालिका वडा न ३ मा पर्ने तेगा बस्ती भौगोलिकरुपमा अत्यन्तै विकट बस्ती हो । हालसम्म पनि यो बस्तीमा सडक पुगेको छैन । वारि तेम्बाथानसम्म सडक पुगेको भए पनि बर्खाको कारण सबै सडकहरू अवरुद्ध छन् । अवरुद्ध सडक पन्छाउँदै वडा न ३ कै पाँगरपुरसम्म गाडी गएपनि तेगा बस्तीसम्म पैदल पुग्न झण्डै १ दिन लाग्ने बताइन्छ । 

बिजुली बत्ती, सडक र सञ्चारबाट पूर्णरुपले विच्छेद भएको कारण सूचना प्राप्त भएपनि एकीन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ ।  बेपत्ता भएको खबर प्राप्त भएपछि खोजीकार्य र उद्धारका लागि सेनाको हेलिकोप्टरमार्फत सो क्षेत्रका सांसद माधव सापकोटासहित आफूहरू जाने तयारीमा रहेको एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button