तपाईँ सुन्दै हुनुहुन्छः

वर्षातका कारण भोजपुरका विभिन्न ठाउँमा पहिरो र सडक अवरुद्ध

भोजपुर । निरन्तरको वर्षातका कारण पहाडी जिल्लाको भोजपुरको जनजीवन समेत प्रभावित बनेको छ । बर्षातका कारण पहिरो जाँदा घरहरूमा क्षति भएको छ भने सडकहरू समेत अवरुद्ध भएको छ ।

अविरल बर्षाका कारण शुक्रवार राती अरुण गाउँपालिका–४ माङसुवा र ओदानेस्थित हिले भोजपुर मध्यपहाडी लोक मार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले अवरोध भएको सडक स्थानीय पालिकासँगको समन्वयमा खुलाइएको बताउनुभयो ।

यता जिल्लाको पश्चिम टेम्केमयुङ गाउँपालिका–२ श्रीदली स्थित भोजपुर–खोटाङ पुष्पलाल मध्यपहाडी लोक मार्गमा अविरल बर्षाको कारण पहिरो जाँदा सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट प्रहरी नायव निरीक्षक हुसन काजी राईको प्रहरी टोली गई पालिकासँगको समन्वयमा पहिरो हटाएको छ ।

वर्षातका कारण जिल्ला ट्राफिक कार्यालयको भान्सा घर पहिरोका कारण जोखिममा परेको छ । पहिरोका कारण कार्यालय र ब्यारेक समेत जोखिममा रहेकाले नजिकै बसोबासको व्यवस्था मिलाइएको बताउनुभयो ।

यस्तै भोजपुर नगरपालिका–४ बस्ने चन्द्रकला श्रेष्ठको घर पछाडिबाट पहिरो झरी घर जोखिममा परेको छ । प्रहरी चौकी गुप्तेश्वर भोजपुरबाट प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो हटाउने कार्य गरेको थियो ।

भोजपुर नगरपालिका–५ मसिनेबेशका भिम बहादुर दाहालको घर अविरल बर्षाको कारण माथि र तलबाट पहिरो झर्दै गरेकाले जोखिमा परेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक दिपक कुमार श्रेष्ठको नेतृत्वको १४ जनाको टोली र सशस्त्र प्रहरी बल पाँच नम्बर गुल्म टक्सार भोजपुरबाट सहायक प्रहरी निरीक्षक ऋषि खत्रीको १५ जनाको टोलीले उद्धार गरेको छ ।

यस्तै भोजपुर नगरपालिका–४ गैरी गाउँका हरि बहादुर खड्काको घरको पछाडिपट्टि रहेको ढुङ्गा माटोको गारो, टिनको छानो भएको एक तले गोठमा पहिरो झर्दा गोठमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षातका कारण भोजपुर नगरपालिका–६ देउरालीदेखि वडा नम्बर पाँच बोखिमसम्म पुष्पलालमध्ये पहाडी लोकमार्गका विभिन्न स्थानमा झरेको पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button