तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाको कारण मध्य तराईको जनजीवन प्रभावित, वीरगंजमा सयौँ घर डुबानमा

वीरगंज । बिगत तिन दिनदेखि जारी अविरल बर्षाको कारण वीरगंज सहित मध्य तराईको बारा,पर्सा,रौतहटको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । 

सिर्सीया नदीमा आएको बाढि वीरगंजको मुख्य बजार आदर्शनगरमा पसेको छ । बाढि बजार क्षेत्रमा पसेपछि सयौँ घर तथा पसलहरू डुबानमा परेका छन् । 

वीरगंजको रानीघाट श्रीपुर , राधेमाई क्षेत्र डुबानमा छ । डुबानको कारण मानवीय क्षति नभएपनि घर तथा पसलमा पानी पसेर करोडौँको क्षति पुर्याएको छ ।  

बाढी तथा डुबानले जनजीवन प्रभावित भएसँगै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले आज एक सूचना जारी गर्दै सिर्सीया नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको हुँदा वीरगंज र आसपासको नदी तटीय क्षेत्रमा डुबान भइरहेकाले होचो भूभागमा पानीको बहाब बढेको हुँदा उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । 

यसैगरी डुबान ग्रस्त क्षेत्रमा तत्काल उद्धारका लागि महानगरपालिकाले स्थानीय प्रशासन सँग पहल गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरी समेत खटाउने व्यवस्था मिलाइएको नगरप्रमुख सिंहले बताउनुभयो । 

यता पर्साको ग्रामिणक्षेत्रको जनजीवन समेत तिन दिन देखिको वर्षा र झरीले प्रभावित भएको छ । ठोरीको ठुटे खोला, ढेडु खोला, बाँदर मुडे, सरस्वती खोलामा आएको बाढि तथा डुबानले सयौँ निगाहको धान खेतीमा क्षति पुगेको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो । 

पर्साकै तिलाबे, ओरीया, भेडाहा लगायतका नदीमा  आएको बाढीले तटीय क्षेत्रमा  ठुलो क्षति पुर्‍याइरहेको छ । तिन दिन देखी पानी निरन्तर पर्ने क्रम जारी रहेको र प्रभावित क्षेत्रमा उद्धारका लागी सुरक्षाकर्मी उच्च सतर्कताका साथ राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button