तपाईँ सुन्दै हुनुहुन्छः

‘सहकारी प्रकरणमा संलग्नमाथि कानुन बमोजिम कारबाही हुन्छ’

धनगढी । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा संलग्नमाथि सरकारले कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसदीय छानविन समितिको (सहकारी) प्रतिवेदन अध्ययन गरिसकेपछि सरकार कानुन बमोजिम अघि बढ्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले सङ्घीयता, गणतन्त्र र समावेशी चरित्रलाई थप सुदृढ एवं प्रभावकारी बनाउन संविधान संशोधन गरिने बताउनुभयो । उहाँले राजनैतिक स्थायित्व, स्थिर सरकार, विकास, सुशासन कायम गर्न काँग्रेस र एमालेबिच सत्ता गठबन्धन बनेको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले काँग्रेस महाधिवेशनको समय आउन बाँकी रहेकाले अहिल्यै उम्मेदवारी घोषणा गर्दा हतार हुने टिप्पणी गर्नुभयो ।

आजै नेपाली काँग्रेसद्वारा धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले काँग्रेस र एमालेबिच भएको सात बुँदे समझदारीको भावना र मर्म अनुरुप अघि बढ्न निर्देशन दिनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य नृप बड, सुशिला मिश्र, जिल्ला सभापति खेमराज चौधरी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button