तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पूर्वमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

रुकुमपूर्व । रुकुमपूर्वमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

जिल्लामा २०७४ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएकोमा हालसम्म १० हजार २ सय ८० जनाले स्वास्थ्य बीमा गरेका छन् ।

स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय रुकुमपूर्वका अनुसार जिल्लामा बर्सेनि स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म स्वास्थ्य बीमा गर्नेको सङ्ख्या १० हजार २ सय ८० जना पुगेको छ । जसमा महिला ५ हजार ५ सय २७ जना छन् भने पुरुष ४ हजार ७ सय ५२ जना रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी बिमित भूमे गाउँपालिकामा रहेका छन् । भूमेमा ४ हजार ५ सय २८ जनाले स्वास्थ्य बिमा सेवा लिएका छन् भने सबैभन्दा कम पुथा उत्तर गंगा गाउँपालिकामा २ हजार ६ सय ८३ जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोन रुकुमपूर्वका कार्यालय दर्ता अधिकारी सपना पुनले बताउनुभयो । यसलाई अझै बढाउने गरी स्थानीय तहसँगै विभिन्न सरोकारवालाहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको उहाँले जनाकारी दिनुभयो ।

नागरिकको स्वास्थ्य उपचारमा केही सहज होस् भन्ने उद्देश्यले भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ लाई लक्षित गरी भूमे गाउँपालिका भित्रकारसहित परिवार, घाइते,अपाङ्ग, दीर्घरोगी, विपन्न परिवार र जेष्ट नागरिकको लागि ८ लाख ४३ हजार ५ सय रुपैयाँ छुट्टयाइएको र हिउँदे अधिवेशनमा रकमान्तर गरि बजेटको आकार पनि बढाइने भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले अर्को आर्थिक वर्षको लागि भूमे गाउँपालिकाले २ हजार ५ सय तिर्ने र विमितले १ हजार तिर्ने गरि गाउँपालिकाले कानुन बनाउने बताउनुभयो ।

अति विपन्न र गर्भवती महिलाको लागि पुथा उत्तरगंगा गाउँपालिकाले ६३ हजार बजेट विनियोजन गरेको छ । यता सिस्ने गाउँपालिकाले भने बजेट अभावको कारण देखाउँदै बजेट छुट्याउन सकेको छैन ।

स्वास्थ्य बीमाका लागि सामान्यतः एक आर्थिक वर्षमा तीन हजार ५ सय तिर्नुपर्छ । यो रकमले पाँच जना परिवारसम्मको स्वास्थ्य बिमा गर्न सकिन्छ। त्यसभन्दा बढी सदस्य भए प्रति परिवार थप शुल्क लाग्छ ।

स्वास्थ्य बीमा बोर्डको प्रावधानअनुसार निश्चित समूहका व्यक्ति तथा परिवारको पूर्ण निःशुल्क र आधा शुल्कमा पनि स्वास्थ्य बिमा गर्न सकिन्छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भई सो सेवा पाएका व्यक्ति, एड्स र क्षयरोगका बिरामीको हकमा भने बीमा निःशुल्क स्वास्थ्य बिमा हुने व्यवस्था छ ।

त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविका र निजका परिवारलाई बिमा शुल्कको आधा छुटको व्यवस्था छ। बिमा गरेपछि प्रारम्भिक सेवा केन्द्र तोकिएका अस्पतालबाट सेवा लिँदा प्रतिव्यक्ति एक लाखसम्मको उपचार निःशुल्क हुन्छ। वैशाखदेखि फर्म भरेकाहरूले भदौ १ गतेबाट स्वास्थ्य सेवा लिन पाउने छन् भने त्यसपछि फर्म भर्नेहरूले आगामी मङ्सिर महिनाबाट सेवा लिन पाउनेछन् ।

रुकुमपुर्वमा ज्येष्ठ नागरिक, गर्भवती महिलाहरू प्रसूति सेवा लिन अस्पतालमा बढी आउने गरेको रुकुमपुर्व अस्पतालका फार्मेसी डा.विश्व नाथले बताउनुभयो । बिमा गरेपछि टिकटको समेत पैसा तिर्नु नपर्ने भएपछि जिल्ला अस्पतालमा स्वास्थ्य बिमा गरेकालाई थप सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button