तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलियामा सङ्गीत अध्ययनका लागि छात्रवृत्ति

काठमाडौँ । अस्ट्रेलियाको एक्सेलसिया कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनमा लागि एक सय २० जना नेपाली विद्यार्थीले छात्रवृत्ति पाएका छन् । सिड्नीस्थित उक्त कलेजले काठमाडौँमा प्रत्यक्ष अडिसन आयोजना गरी नेपाल र अष्ट्रलियाका सङ्गीत विज्ञहरुबाट विद्यार्थी छनौट गरेको हो ।

अडिसनबाट छानिएका कलाकारहरू स्नातकमा ३ वर्षका लागि १५ हजार र स्नातकोत्तरमा २ वर्षको ६ हजार अस्ट्रेलियन डलरसम्म छात्रवृत्ति प्रदान गरिएको छ । विश्वभरिबाट सोही प्रकारले छनौट गरिएका १६ हजारभन्दा बढी विद्यार्थीले स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्तिमा पढ्न पाउने कलेजका प्रतिनिधि बबी अबा्रहिमले जानकारी दिनुभयो । अडिसनमा अष्ट्रलियन राजदूत फेलिसिटि भोल्कले गीत सङ्गीतमा रुचि राख्ने विद्यार्थीलाई प्रत्यक्ष अडिसन गरेर छनौट गरिएको बताउनुभयो ।

राजदूत भोल्कले सङ्गीत शिक्षा विश्वमै अहिलेको आवश्यकता भएकाले उच्च तहमा अध्ययन गरेपछि उच्च कोटीमा कलाकार उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । सन् १९८३ मा स्थापना भएयता नै उक्त कलेजले कला अध्ययनमा उच्च शिक्षालाई प्राथमिकता दिँदै आएको छ । विगत ७ वर्षयता एक्सेलसिया कलेजमा पढेका थुप्रै नेपाली विद्यार्थीले स्नातक उत्तीर्ण गरी साङ्गीतिक दुनियाँमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button