तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको तिंकर सीमानाका सञ्चालनमा 

दार्चुला । नेपाल र चीनबीचको दार्चुलाको तिंकर सीमानाका साउन ३ गतेदेखि पुनः सञ्चालनमा आएको छ । पहिलो चरणमा असार ११ गतेदेखि खुल्ने भनिएको टिंकर नाका केही प्राविधिक तयारी पूरा नभएको भन्दै चिनिया पक्षले आगामी जुलाई १० अर्थात् असार २६ गतेदेखि खोलिने जानकारी दिएको थियो । नाका सञ्चालनको लागि जेठ १७ गते दार्चुला र चीनको ताक्लाकोटस्थित स्थानीय अधिकारीहरुबीच भएको भर्चुअल बैठकमा असार ११ देखि नाका खोल्ने सहमति भएको थियो । चिनिया पक्षले नाका खोल्ने समय सारिएको औपचारिक जानकारी नदिए पनि अनौपचारिक रुपमा स्थानीय दोभासेमार्फत सन्देश पठाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो

असार २६ गते पनि सञ्चालनमा आउन नसके पछि साउन ३ गतेदेखि नियमित सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । नाका सञ्चालनमा आएपछि दर्जन बढी व्यापारीहरू चीनको ताक्ला कोट प्रस्थान गरेको व्यापारी अशोक बोहराले बताउनु भयो । नेपाली व्यापारीहरू घोडा खच्चर सहित सामान लगेर व्यापारको लागि ताक्ला कोट तिर लागेका हुन् । 

चिनिया सुरक्षाकर्मीले सिमानामा चेकजाँच गरेर मात्र आवतजावतको व्यवस्थापन गरेको व्यापारीहरूले बताएका छन् । नेपालतिर तिंकर र छाङरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच तथा सुरक्षा दिँदै आएका छन् ।  

टिंकर नाका खोल्ने पूर्वतालिकाअनुसार दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरुले ताक्ला कोट जाने तयारी गरेका थिए । जिल्लामा रहेका नेपाली सेनाबाहेक सबै सुरक्षा निकायका प्रमुखहरू र सीमा प्रशासन कार्यालयका प्रमुखको टोली असार ९ गते सदरमुकामबाट टिंकर नाकातर्फ जाने तयारी थियो तर असार ८ गते सिमानाका खोल्ने समय १५ दिनपछि सारिएको जानकारी मिलेपछि तत्कालको भ्रमण रोकिएको छ । अहिले नाका सञ्चालनमा आएको भए पनि सुरक्षा अधिकारीको टोली तिंकर नाका तर्फ गएको छैन । कोभिड महामारीको समयमा बन्द रहेको नाकामा सुरक्षाकर्मीको बस्ने भवन र पोष्टको संरचनामा यात्रुलाई चेकजाँच गर्ने मेसिन र उपकरण जोड्न बाँकी रहेकोले नाका खोल्न ढिलाइ भएको स्रोतले बताएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button