तपाईँ सुन्दै हुनुहुन्छः

निरन्तरको बर्षाले पर्वतमा सडक र घर पहिरोले लग्यो

पर्वत। बुधबार दिउँसो देखि निरन्तर भएको बर्षातले पर्वतका विभिन्न ठाउँमा ठूलो मात्रामा क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल बर्षातका कारण कुश्मा २ सहस्रधारा भन्ने ठाउँमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।

लगातारको वर्षा र रातको समयमा आएको पहिरोका कारण सोही ठाउँमा सञ्चालन हुँदै आएको एक रेस्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मध्यरातमा आएको पहिरोले कालीगण्डकी रिभर रेस्टुरेन्ट पहिरोले पुरेको हो ।

पहिरोको कारण अवरुद्ध उक्त स्थानको सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ । यस अघि तमादीखोला र ओढारे क्षेत्रमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको छ । त्यस स्थानमा लेदो र गेगर बगिरहेको हुनाले सडक खुलाउन समेत सास्ती भइरहेको छ ।

उता कालीगण्डकी लोकमार्ग अन्तर्गतको मालढुंगा बेनी सडक पनि राती देखी नै अवरुद्ध बनेको छ ।बर्षातका कारण मोदी २ देउपुरमा ४ वटा घरहरू पुरिएको विवरण प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै कुश्मा १० पिपलटारीमा समेत एक घर पुरिएको जानकारी आएको र घटनास्थलमा प्रहरी पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राती नै कुस्मा नगरपालिका ११ पकुवामा घरगोठ पहिरोले लादा मानिसलाई जोगाउन सफल भए पनि भैँसी र पाडो भने पहिरोले लगेको स्थानीय मनोज पौडेलले जानकारी दिनुभयो ।

पर्वतमा पछिल्लो समय प्रहरीले दिएको जानकारी अनुसार पहिरोका कारण मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button