तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धशान्तिमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल बन्ने भएको छ ।

नेपालकै तेस्रो लामो पुलको रुपमा रहने सो पुलको आज एक कार्यक्रमबिच कङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गर्नुभयो । सो पुलले बुद्धशान्ति वडा नं. ६ र ७ लाई जोड्नेछ ।

बुद्धशान्ति–७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण हुने ४ सय ७६ मिटर लम्बाइको झोलुङ्गे पुलको धार्मिक विधि अनुसार पूजा गरेर महामन्त्री शर्माले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री शर्माले पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुईवटा वडाहरूलाई मात्रै जोड्ने नभई यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने बताउनुभयो । यो पुल सञ्चालन भए पश्चात् बुद्धशान्ति ६ सहित इलामको रोङ गाउँपालिको वडा नं. ५ र ६ का स्थानीयहरूले उत्पादन गरेको कृषि उपजलाई बजारी गर्न सहयोग पुग्ने शर्माले बताउनुभयो । 

थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसा रहेको छ । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । निर्माणको कामलाई तीव्रता दिएर २०८३ वैशाख मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button