तपाईँ सुन्दै हुनुहुन्छः

मौसमी नाकाबन्दीमा कर्णाली: हवाईसेवा,सडक यातायात ठप्प 

मुगु ।  विगत एक सातादेखि परेको अविरल बर्षाका कारण कर्णाली प्रदेशको जनजीवन ठप्प भएको छ ।

वर्षासँगै गएको पहिरोका कारण सडक यातायात सेवा ठप्प भएको छ भने प्रतिकुल मौसमका कारण हवाई सेवा समेत ठप्प भएको छ ।लगातारको वर्षा र मौसममा आएको खराबीका कारण यहाँ रहेका ४ वटा विमान स्थलहरूमा हवाई उडान अवरुद्ध भएका छन् भने कर्णाली राजमार्ग र कर्णाली करिडोरको ठाउँ ठाउँमा  बाढी,पहिरोले सडकमा अवरोध पार्दा यातायातका साधनहरू चल्न सकेका छैनन् ।

सडक र हवाई दुवै तिर अवरुद्ध भएपछि अहिले कर्णालीवासीहरू एक किसिमको मौसमी नाकाबन्दीमा परेका छन् । अत्यावश्यक काम विशेषले यी जिल्लाहरूबाट बाहिरिने र भित्रनेहरू समस्यामा परेका छन् भने विकल्प नउद्या कर्णालीवासीका अत्यावश्यक काम छुटेका छन् । छायानाथ रारा नगरपालिका वडा न ११ का नौलासिग नेपाली आफु अत्यावश्यक कामले सुर्खेत जानू पर्ने भएपनी सडकमा गाडी र एयरपोर्टमा जहाज नचल्दा अप्ठेरोमा परेको बताउनुभयो । । 

यस्तै २२ गते सम्पन्न शिक्षक सेवा आयोगको परीक्षा दिन जान नपाएर धेरै जनाको परीक्षा छुटेको छ । छायानाथ रारा नगरपालिका वडा न १० तल्लेख  गाउँका स्थानीय मोहन  शाही गाडी र पेलेन नचलेकाले आफ्नो परीक्षा छुटेको सुनाउनु हुन्छ । परीक्षा मात्र होइन यातायातका कुनै साधन नचल्दा सुविधा सम्पन्न अस्पतालहरूमा उपचार गर्न जाने बिरामी र कार्यालय कामले प्रदेश तथा सङ्घीय राजधानी जानुपर्ने कर्मचारीहरू जिल्ला मै रोकिनु परेको छ । 

वर्षा लागेपछि सडक अवरुद्ध भई बजारमा दैनिक उपभोग्य सामान र निर्माणका सामान अभाव हुन्छ भन्दै व्यापारीहरूले मौजा राख्नका लागि मगाएका सामान बोकेका मालवाहक गाडिहरु पनि बिच बाटो मै रोकिएको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढाले बताउनुभयो । हवाई /सडक अवरोध लम्बिए छिटै बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव हुने  उहाँले बताउनुभयो ।

वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने  गगने खोला,एसमोड,नाम्ला खोला,दही खोला,हुल्म र दैलेखको पातरखोला लगायतका दर्जन बढी स्थानमा पहिरो,बाढि र लेदो आउँदा सडक अवरुद्ध भएको छ । मौसममा सुधार नहुँदा मुगुको रारा विमान स्थल,हुम्लाको सिमिकोट विमान स्थल,जुम्लाको जुम्ला विमान स्थल र डोल्पाको जुफाल विमान स्थलहरूको उडान सेवा ठप्प भएको रारा नागरिक उड्डयन कार्यालय ताल्चा मुगुका प्रमुख श्री कृष्ण रिजालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button