तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाका कारण नवलपुरको पहाडी मार्ग अवरुद्ध 

नवलपुर । बर्षाका कारण नवलपुरको  पहाडी मार्गहरू अवरुद्ध भएका छन् ।

नवलपुरको दलदले–बुलिङ्गटार सडक खण्डको पाङ्ग्रेमा दिनहुँजसो पहिरो खसेपछि  यस खण्ड भएर आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ ।

वर्षा सुरु भएदेखि नै पाङ्ग्रेमा दिनहुँ पहिरो खस्ने गरेको छ । यस सडक खण्ड भएर जिल्लाको पहाडी तीन पालिका बुलिङटार , बौदीकाली र हुप्सेकोटका विभिन्न  बस्तीबाट आवतजावत गर्ने स्थानीयलाई  सदरमुकाम कावासोतीमा महत्वपूर्ण काम गर्न आउन समेत गाह्रो भएको छ । बुलिङटारका स्थानीय पूर्ण बहादुर थापाले पाङ्ग्रेसँगै अन्य विभिन्न ठाउँमा समेत सानो सानो पहिरो खसिरहेकोले यस सडक खण्डमा यात्रा गर्न जोखिम भएको बताउनुभयो । विगत हप्ता दिन देखी सुरु भएको वर्षाले पहाडी क्षेत्रको मुख्य सडक खण्डको पाङ्ग्रेमा  दिनहुँ पहिरो खसेपछि यस क्षेत्रमा चल्ने सार्वजनिक सवारी नियमित रुपमा चल्न सकेका छैनन् । जसले गर्दा  बिरामी परेका स्थानीय बढी मर्कामा परेको थापाले बताउनुभयो । पहिरोले आधा जसो सडक खण्ड नै  बगाएपछि मोटरसाइकल भएर यात्रा गर्ने स्थानीय र पैदलयात्री समेतलाई यस सडक खण्डबाट यात्रा गर्न जोखिमपूर्ण बनेको थापाले गुनासो गर्नुभयो । 

पहाडी क्षेत्रमा जाने सडक वर्षाको समयमा प्रत्येक वर्ष  महिनौँसम्म अवरुद्ध हुने गर्दछ ।  सडकको स्तर उन्नति गर्ने काम चलिरहेकाले अझै बढी पहिरो खस्ने र हिलो हुने सम्भावना बढेको छ । भित्तो काट्ने र ग्राभेल बिछ्याउने काम समेत चलिरहेकाले सानो पानी परेपछि सडक अवरुद्ध हुने गरेको छ । 

सडक अवरुद्ध भएर सवारी चल्न नसक्दा यस क्षेत्रका  अर्खला, बुलिङ्गटार, धौबादी, डेढगाउँ, डाडाझेरी, रकुवा , रुचाङ्ग , भारतीपुर , मिथुकरम लगायतका हजारौं नागरिक प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा त्यसैगरी पहाडी क्षेत्रमा उत्पादित कृषि सामग्रीलाई बजारसम्म ल्याउन पाएका छैनन् भने बजारबाट अत्यावश्यक खरिद गरेर गाउँ लैजान नपाएको बौदीकाली निवासी । जिल्ला समन्वय समिति सदस्य समेत रहनुभएकी पिन कुमारी चितौरेले जानकारी दिनुभयो ।

यसैगरी  नवलपुरको गैँडाकोट – डेढगाउँ कालिगण्डकी करिडोर अन्तरगत बुलिङटार ६  मा पर्ने तरङ खोलामा बढीले ह्युमपाइप बगाएपछि यात्रु अलपत्र परेको स्थानीय रुटका जिप चालक भोज पुलामीले बताउनुभएको छ ।

आज ११ बजेतिर  खोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि गैँडाकोटबाट गएका र डेढगाउँबाट आउँदै गरेका जिप , मोटरसाइकल अलपत्र परेको पुलामीले बताउनुभयो । जेसिबीको प्रयोग गरेर ह्युमपाइप मिलाउन सकेमा सडक सुचारु गर्न सकिने  अवस्था रहेको उहाँको भनाई छ ।

यस्तै नारायणगढ बुटवल सडक खण्ड अन्तरगत दाउन्नेमा पहिरो खसेको र टक बिग्रेको हुँदा एकतर्फी मात्रै सवारी सञ्चालन भएको छ । जसले गर्दा सवारीको जाम लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले तरङ खोलामा सडक सुचारु गर्न पहल भइरहेको बताउनुभएको छ । निरन्तर वर्षा भइरहेकाले काम गर्न  गाह्रो भइरहेको उहाँले बताउनुभएको छ । पहिरो गएको ठाउँमा समेत पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button