तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालयको आयोजनामा शुक्रवार जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको छ । 

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु कुमार श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ, सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।’

आगामी दिनमा पनि निरन्तरता दिँदै खोप लगाउनबाट कोही पनि बञ्चित हुन नहुने बताउँदै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख राईले महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मी पुण्यको काम गरेको बताउनुभयो । प्रमुख राईले भन्नुभयो, पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयम सेविका भएकाले उहाँहरूले पूर्ण खोप घोषणाका लागि पुण्यको काम गर्नु भएको छ ।” 

सोक्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा, रामप्रसाद राई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राई, हतुवागढी गाउँपालिका स्वास्थ्य शाखाका मातृका आचार्य, स्वयम सेविका सुमित्रा महतले खोप लगाउनबाट बालबालिकाहरूलाई बञ्चित गर्न नहुने बताउँदै त्यसका लागि आआफ्नो क्षेत्रबाट सबैले भूमिका निर्वाह गर्न जरुरी रहेको बताउनु भएको छ । 

सो अवसरमा जिल्लाका नौ वटै स्थानीय तहहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । प्रदेश भित्रका १४ जिल्लाहरू मध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छैठौँ जिल्ला भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button