तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको तिंकर सीमा नाका असार २६ गते खुल्ने

दार्चुला । नेपाल र चीन बीचको दार्चुलाको तिंकर सीमानाका असार २६ गते खुल्ने भएको छ । असार ११ गते खुल्ने समय तालिका रहे पनि दुई हप्तापछि नाका खुल्ने भएको हो । असार ११ गतेदेखि खुल्ने भनिएको टिंकर नाका केही प्राविधिक तयारी पूरा नभएको भन्दै चिनिया पक्षले आगामी जुलाई १० अर्थात् असार २६ गतेदेखि खोलिने जानकारी दिएको छ ।

यस अघि जेठ १७ गते दार्चुला र चीनको ताक्लाकोटस्थित स्थानीय अधिकारीहरुबीच भएको भर्चुअल बैठकमा असार ११ देखि नाका खोल्ने सहमति भएको थियो । टिंकर नाका खोल्नेक्रममा नेपालका स्थानीय सुरक्षा अधिकारीहरूलाई ताक्लाकोट आउन निम्ता समेत दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । ‘असार ११ गतेका लागि निर्धारित कार्यक्रम जुलाई १० अर्थात् असार २६ का लागि सारिएको छ, यसबारे गृह र परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेका छौ’ उहाँले भन्नुभयो  । 

चिनिया पक्षले नाका खोल्ने समय सारिएको औपचारिक जानकारी नदिए पनि अनौपचारिक रुपमा स्थानीय दोभाषेमार्फत सन्देश पठाएको प्रजिअ जोशीले बताउनुभयो । ‘हामीले मौखिक रुपमा नाका खुल्ने समय परिवर्तन भएको जानकारी पाएपछि गृह र परराष्ट्र मन्त्रालयमा लिखित जानकारी गराएका छौँ’ उहाँले भन्नुभयो । टिंकर नाका खोल्ने पूर्वतालिकाअनुसार दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरुले ताक्लाकोट जाने तयारी गरेका थिए । जिल्लामा रहेका नेपाली सेनाबाहेक सबै सुरक्षा निकायका प्रमुखहरू र सीमा प्रशासन कार्यालयका प्रमुखको टोली असार ९ गते सदरमुकामबाट टिंकर नाकातर्फ जाने तयारी थियो । असार ८ गते सिमानाका खोल्ने समय १५ दिनपछि सारिएको जानकारी मिलेपछि तत्कालको भ्रमण रोकिएको छ । 

कोभिड महामारीको समयमा बन्द रहेको नाकामा सुरक्षाकर्मीको बस्ने भवन र पोष्टको संरचनामा यात्रुलाई चेकजाँच गर्ने मेसिन र उपकरण जोड्न बाँकी रहेकोले नाका खोल्न ढिलाइ भएको स्रोतले बतायो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button