तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा चालु आवको असार पहिलो सातासम्म सडक दुर्घटनामा ६३ जनाको मृत्यु

बाँके । बाँकेमा चालु आर्थिक बर्ष २०८०/०८१ को असार पहिलो साता सम्ममा विभिन्न सवारी साधन दुर्घटनाबाट ६३ जनाले ज्यान गुमाएका छन् ।

सडक दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल ११२ ,ट्रक १८, टिप्पर ४, बस १३ , माइक्रो ४, जिप कार १७, ट्याक्टर ८, टेम्पो १२, र अन्य २२ गरि २१० रहेको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा सबैभन्दा बढी पुरुष ४५ जना मृत्यु भएको छ भने महिला १६, बालक दुई गरी ६३ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, यो अवधिमा सवारी दुर्घटनामा १०२ गम्भीर घाइते भएका छन् भने ९९ साधारण घाइते भएका छन् । यो अवधिमा सवारी दुर्घटनामा १० पशुचौपाय मरेका छन् भने ३ घाइते भएको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी एक वर्षको अवधिमा ३१ हजार १ सय ५९ सवारी र ढुवानीका साधनहरू कारवाहीमा परेको र त्यसबाट २ करोड ४४ लाख २७ हजार राजस्व सङ्कलन भएको छ।

यस्तै, मादक पर्दाथ सेवन गर्ने १ हजार ९ सय २० जना कारबाहीमा परेका छन् कारबाहीमा परेकाहरूबाट १९ लाख २० हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, लामो दुरीको यात्रामा दुई जना चालक नराखेको हुँदा कारबाहीमा परेका १ सय १० सवारी साधनबाट १ लाख १० हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लङ्घन गर्ने ढुवानी तथा सवारी साधनलाई गरिएको कारवाहीमा यो बर्ष दुर्घटनामा केही कमी भएको बाँके ट्राफिक कार्यालयले जनाएको छ ।

चालकहरूको लापरबाही र सर्वसाधारणले सडक अनुशासन पालना नगर्दा मानिसहरूको ज्यान जाने हुँदा ट्राफिक नियम कडाइ र जानकारीको लागि दुई हजार ३ सय २६ पटक १ लाख २० हजार ३ सय ६५ जना व्यक्ति र जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँले विद्यार्थी, चालक, सहचालकदेखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिरहेका बताउँदै सडक दुर्घटना न्यूनीकरणको लागि आफूहरूको पहलले मात्रै सम्भव नभएको हुँदा सडक प्रयोग गर्ने सबैले अनुशासनपूर्वक ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह समेत गर्नुभयो ।

ट्राफिक कार्यालय बाँकेका अनुसार नेपालगन्ज सुर्खेत सडकखण्ड पूर्व पश्चिम् राजमार्गको ढकेरी शम्शेरगन्ज सडक र नेपालगन्ज गुलरिया सडकखण्डमा बढी दुर्घटना हुने गरेको पाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button