तपाईँ सुन्दै हुनुहुन्छः

८ वर्ष पछि सुल्झियो सोरु गाउँपालिकाको केन्द्र तोक्ने विवाद

मुगु । जिल्ला स्थित सोरु गाउँपालिकाको केन्द्र तोक्ने विवाद ८ वर्षपछि सुल्झिएको छ ।

१४ औ गाउँसभामा पालिका अध्यक्ष, उपाध्यक्ष वडाअध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरूको बहुमत निर्णयले पालिका केन्द्र सोरुकोट मै निर्धारण गर्ने निर्णय भए पछि पालिका केन्द्र तोक्ने कुरा सुल्झिएको सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीयतह सञ्चालन भएको ८ वर्षसम्म यस सोरु गाउँपालिकाको पालिका केन्द्र निर्धारण नहुँदा पूर्वाधार निर्माणदेखि प्रशासनिक कामकाज गर्न गाह्रो भएको थियो, यो पटकको १४ औँ गाउँसभाले पहिलो निर्णय पालिका केन्द्र सोरुकोटमा तोक्ने गरेको छ ।’

बिगत ८ वर्षदेखि अस्थायी रुपमा सोरुकोटमा पालिका स्तरका विकास निर्माणका कामकाजदेखि सेवाग्राहीका सेवा प्रवाह गर्दै आएको भएपनि अस्थायी पालिका केन्द्रले गर्दा जनप्रतिनिधिदेखि कर्मचारीहरूलाई काम गर्न अप्ठेरो हुँदै आएको थियो ।
गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोरु गाउँपालिकाको पालिका केन्द्र सोरुकोट तोकिएको निर्णय सार्वजनिकसमेत गरेको छ ।

विगतका गाउँसभामा सोरुका जम्मा ११ वटा वडाहरू मध्ये ६ वडाका जनप्रतिनिधिले पालिका केन्द्र जिमा कुलाहा भन्ने स्थानमा र ५ वडाका जनप्रतिनिधिले सोरुकोट भन्ने स्थानमा हुन पर्ने अडान लिइरहँदा केन्द्र निर्धारणमा अन्यौल उत्पन्न भइरहेको थियो । यो पटक भने सबै जनप्रतिनिधि सोरुकोटमै केन्द्र राख्न सहमत भएका हुन् ।

सोरुकोटमा बिद्युत्, बैङ्क, प्रहरी चौकी, खाद्य डिपो, सडक पूर्वाधार बजार व्यवस्था विद्यालय लगायत सबैको पहुँच भएकोले १४ औ गाउँसभाले पालिका केन्द्र सोरुकोट राख्ने बहुमतले निर्णय गरिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।
‘पालिकाको केन्द्र निर्धारण टुङ्गो लाग्यो अब जग्गा खरिद गरि पालिकाका भित्रका सबै विषयगत शाखा तथा अन्य आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाउँछौ’, अध्यक्ष शाहिले भन्नुभयो । पालिका केन्द्र निर्धारणको लागि पटक पटक छलफल बहस भइरहेको अवस्थामा यो गाउँ सभाबाट पालिका केन्द्र तोकिए पछि सोरुबासी जनता खुशी भएका छन् ।

सोरु गाउँपालिकाले यो पटक एउटा महत्वपूर्ण निर्णय पालिका केन्द्र निर्धारण गर्ने गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताउनु भयो । उहाँले अब भौतिक संरचना निर्माणमा पालिकाले ध्यान दिई गाउँपालिकालाई नगरपालिका उन्मुख पालिका बनाउन लाग्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button