तपाईँ सुन्दै हुनुहुन्छः

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रियसभामा पेस

काठमाडौँ । राष्ट्रियसभामा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पेस भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सभासमक्ष पेस गर्नुभयो ।

विधेयक पेस गर्नुहुँदै मन्त्री श्रेष्ठले आँखा स्वास्थ्य सेवा विधातर्फ दक्ष जनशक्ति उत्पादन गर्न, प्राज्ञिक अध्ययन अनुसन्धान गर्न र आँखा स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापित गर्न विधेयक ल्याइएको बताउनुभयो ।

यस्तै, बैठकले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि, बैठकमा सांसदहरुले भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको विशेष समयमा बोल्दै सांसद झक्कुप्रसाद सुवेदीले उच्च ओहोदामा रहेका व्यक्तिहरूको नाम भ्रष्टाचारको मुद्दामा जोडिनु सुखद नभएको भन्दै भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, सांसद कमला पन्तले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धन गर्ने कार्यमा प्रशासनिक र राजनीतिक क्षेत्र दुवै कटिबद्ध हुनुपर्ने बताउनुभयो ।

सांसद सुमित्रा विसीले संसद्का आन्दोलनरत कर्मचारीका जायज माग सम्बोधन गर्न गठित समितिले चाँडोभन्दा चाँडो निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले नागरिकलाई सरल र सहजरुपमा स्वास्थ्य उपचार गर्ने गरी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बामदेव गौतमले कार्बन व्यापारलाई पारदर्शी र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद गोमादेवी तिमिल्सेनाले महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न हिंसामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक असार १३ गते बिहीबार दिउँसो सवा १:०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button